सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ ।
ट्रेलरले दिदी भाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ । फिल्म भदौ २४ मा सार्वजनिक हुँदै छ ।
‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको फिल्म हो ।
बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।
लेखक÷ निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’फिचर फिल्मतर्फ सुजितको डेब्यू हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।
फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर, जतिचोटि उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ ।
सुजितले किशोरीको पढ्ने सपनालाई ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर, जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ ,‘ सुजितले भने, ‘उसलाई बाहिर निस्कनु छ, तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ ।’
किशोरी र उनको ९ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्मको रोचक पक्ष रहेको सुजितले बताए ।
फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् ।
आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।