सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै चुनावी सरगर्मी बढेको छ । सरकारले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि विभिन्न दलका कार्यकर्तादेखि स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरिरहेकाहरू उत्साहित बनेका छन् ।
राजनीतिक दलका नेताहरू टिकटका लागि दौडधुप गरिरहेका बेला स्वतन्त्र उम्मेदवारले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको लहर चलाइरहेका छन् । मकवानपुरमा त स्वतन्त्र उम्मेदवारबीचमै भिडन्त हुने देखिएको छ ।
प्रतिनिधि तथा प्रदेश निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार टुङ्गो लगाउन नपाउँदै मकवानपुरका स्वतन्त्र उम्मेदवारको चर्चा सुरु भएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका देशको राजधानी काठमाडौं महानगरसहित धरान, धनगढी लगायतको स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि स्वतन्त्र उम्मेदवारको लहर बढ्दै गएको हो ।
२ संघीय र ४ प्रदेश तह रहेको मकवानपुरमा हालसम्म दुई युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । घोषणा गर्नेहरूमा व्यवसायी दीपेन्द्र चन्द ठकुरी र दिपीका शर्मा रहेका छन् । उनीहरूले सामजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।
राजनीतिक दलहरू भ्रष्टाचार र कमिसनको दलदलमा फसेर देश बर्बाद बनाएको भन्दै समाज सुधारका लागि आफूहरूले उम्मेदवारी दिन लागेको दुवैको भनाइ छ । दीपेन्द्र र दिपीकाले मकवानपुरको क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने बताएका छन् ।
विगतमा स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मानेर पनि आफू स्वतन्त्र उम्मेदवार बन्न मन लागेको ठकुरी बताउँछन् । ‘काठमाडौं, धरान र धनगढीलाई हेरेर अब जनताले राजनीतिक दललाई भन्दा काम गर्ने खालको व्यक्ति पाए सजिलै जिताउँछन् भन्ने प्रमाणित भइसकेको छ,’ उनले भने ।
आफू प्रतिनिधिसभा सांसदको आकांक्षी भए पनि पछिल्ले समय अझै छलफल र गृहकार्यमै जुटिरहेको बताउँदै उनले भने, 'आकांक्षी भएकै कारण चुनावी मिति घोषणा भएपछि प्रतिनिधिसभामा उम्मेदवारी दिने भन्दै आएको छु । त्यसका लागि छलफल पनि भइरहेका छन् । तर पछिल्लो समय केही साथीले तपाईं प्रदेशमा उठ्नु पर्छ पनि भन्नुभएको छ । निर्णय गर्न अलि कठिन नै परेको छ मलाई यतिबेला । अझै तीन महिना समय बाँकी छ । सल्लाह गरौं । मेरो आकंक्षा भने प्रतिनिधिसभा सांसदमा नै हो ।'
क्षेत्र नम्बर १ बाटै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै सामाजिक सञ्जाल रंगाइरहेकी छिन् दिपीका शर्मा पनि । मकवानपुरको क्षेत्र नम्बर १ बाटै महिला स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी शर्मा फोहोरी राजनीतिक दलदलबाट बाहिर रहेर जनताको पक्षमा वकालत गर्नका निम्ति उम्मेदवारीको घोषणा गरेको बताउँछिन् ।
आफ्नो उम्मेदवारी युवा नेतृत्व आउनुपर्छ भन्ने रहको बताउँदै उनले भनिन्, ‘बुढापाका नेताले केही पनि गरेनन् । अब पार्टीमा लागेरभन्दा पनि जनताको पक्षमा लागेर काम गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी घोषणा गरेकी हुँ । योजना धेरै छन् । तर त्यो योजना म अहिले नै सुनाएर नागरिकलाई दिक्क बनाउन चाहन्नँ ।’
मकवानपुरमा स्वतन्त्रबाट संघीय निर्वाचनमा होमिने बताएका अर्का एक आकांक्षी सन्तोष न्यौपाने भने केही दिनअघि मात्रै रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समायोजित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।