प्रतिनिधिसभा निर्वाचन : पाँचपटक पराजित सिंहलाई यसपटक पत्याउलान् मकवानपुरेले ?

प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्रको रुपमा निर्धारण गरिएको मकवानपुरमा चुनावी रौनक सुरु भइसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणासँगै जिल्लामा उम्मेदवार चयनका लागि प्रमुख दलका नेताहरूले गृहकार्य सुरू गरेका छन् । सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । 

मकवानपुरमा संघ तथा प्रदेशको आगामी निर्वाचनका लागि नेताहरूको कहाँबाट उम्मेदवार बन्लान् ? भन्ने परिचर्चा सुरू भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै संघ तथा प्रदेश सांसदका आकांक्षीहरुको चर्चा सुरु भइरहेको हो । मकवानपुरमा अन्य आकांक्षीहरुको बारेमा त्यति बहस नभए तापनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताउँदै आएका दीपक सिंहको चर्चा छुट्टै छ । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर पदमा समेत उम्मेदवारी दिएर पराजित बनेका सिंहको त्यो पाँचौँपटकको हार थियो । पटक–पटक स्थानीय निर्वाचन, संविधान सभा निर्वाचन तथा संघीय निर्वाचनमा समेत हार व्यहोरेका सिंह सातौँपटक आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन् । 

आफूले उम्मेदवारीको विषयमा मुख नखोले पनि जनताले रुचाएर नाम उच्चारण गरिरहँदा साँच्चैै निर्वाचनमा म उठ्नुपर्छ भन्ने भान भइरहेको बताउँदै सिंहले भने, ‘केन्द्रबाट निर्णय आएको छैन । कसलाई कहाँ उठाउने भन्ने पनि निर्णय गर्न बाँकी नै छ । अहिले म पार्टी सुदृढीकरणमा लागिरहेको छु । राप्रपालाई बलियो र संगठनात्मक बनाउन जुटिरहेका छौँ । यससँग सँगै आसन्न निर्वाचनका लागि तयारी पनि भइरहेको छ ।’

उम्मेदवारीको चर्चा चलिरहँदा तपार्इंको आकंक्षा संघमा कि प्रदेशमा ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘प्रदेशको त म विरोधी नै हो । प्रदेशको संरचना खारेज गर्न लागिपरेको मलाई प्रदेश सांसद चाहिँदैन ।’ प्रदेश संरचना भनेको उपलब्धि गराउनेभन्दा पनि राष्ट्रलाई रित्याउने बताउँदै सिंहले अबको निर्वाचनमा प्रतिनिधिसभा सांसदमा नै आफ्नो उम्मेदवारी रहने बताए । 

पाँचपटकको थोरै मतान्तरले हार व्यहोर्न परेको स्मरण गर्दै उनले जतिपटक हारे पनि मनले हार नखाएको र आसन्न निर्वाचनमा विजयी भएर मन्त्री हुने आशामा रहेको बताए । ‘मेयरको उम्मेदवारी दिइरहँदा पनि साथीभाइकै बलबुतामा उम्मेदवारी दिएको थिएँ । अहिले पनि तपार्इं प्रतिनिधिसभामै उठ्नुपर्छ भनेर हौसला दिइरहेका छन्,’ सिंहले भने । 



यस्तो छ इतिहास

विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवातदेखि नै राप्रपाको संस्थापन पक्ष हुन् । पाँचपटकसम्म स्थानीय तहदेखि संविधानसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका सिंह पुनः प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी हुन् । ०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो । 



त्यस्तै, ०५६ सालको संविधानसभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए भने ०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुन परेको थियो । 

त्यस्तै, ०७३–०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए भने वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर सिंह पराजित भएका हुन् । राप्रपाका उम्मेदवार सिंहले २० हजार ३१ मत प्राप्त गरेर  पराजित हुन परेको थियो भने मेयरमा विजयी भएकी मीनाकुमारी लामाले २३ हजार ६७ मत पाएकी थिइन्् । 
 
यस भन्दाअघि पाँचवटा निर्वाचनमा सहभागी भइसकेका सिंह आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा जुटेको बताइएको छ ।
 

  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १९:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया