वामदेव र बाबुराम माओवादीको चुनाव चिन्हमा निर्वाचन लड्ने

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लड्न दिने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हँसिया हथौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताए । उनले दुवै नेताले राखेका केही सर्तहरूका बारेमा भने बुधवार छलफल हुने बताए । महराले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताए ।  

‘नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बसेको छ । हामी भोलि बिहान फेरि बैठक बस्छौँ । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीको बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट आगामी संसदीय चुनाव लड्ने विचार व्यक्त गर्नुभयो, त्यसको हामी स्वागत गर्दछौँ,’ महराले भने, ‘हामी उहाँहरू दुवै जनालाई उहाँहरूका पार्टीका अन्य सदस्यहरूलाई पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह, हँसिया हथौडामा चुनाव लड्नको निमित्त स्वीकृति गर्‍यौं । उहाँहरूले राखेका केही शर्तहरू छन् । ती सर्तको विषयमा उहाँहरूसँग छलफल गर्ने, गठबन्धनभित्र पनि छलफल गरेर टुंगो लगाउने कुरा भएको छ ।’ 

माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान बस्नेछ । 





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १२:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया