संघीय सरकारको आश्वासनपछि मधेस प्रदेशको धर्ना रोकियो

मधेस प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले विगत तीन दिनदेखि गर्दै आएको धर्ना आज स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् । 

मुख्यमन्त्री राउतले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग कुराकानी हुँदा उनीहरुले मधेस प्रदेश सरकारको प्रहरी समायोजन सम्बन्धी माग पूरा गर्न तयार रहेकोले धर्ना स्थगित गरिएको बताए । 

उनले प्रहरी समायोजनको मागमा संघीय सरकार सकारात्मक रहेको र निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने आश्वासन पाएकोसमेत जानकारी दिए । 

उनले प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि लामो समयदेखि लविङ्ग गर्दै आएको र उनको पहलकदमीले संघीय सरकारसँग सकारात्मक कुराकानी भएको बताए ।

गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय संसदबाट पारित भएको प्रहरी कर्मचारी समायोजन ऐन २०७६ एवं नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी ऐन २८ माघ २०७६ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेकाले यथाशीघ्र प्रहरी समायोजन हुनुपर्ने माग गर्दै आफूहरु धर्नामा बसेको र तीन दिनको धर्नापश्चात केन्द्र सरकारले सकारात्मक पहल देखाएकोले धर्ना स्थगित गरिएको बताए । 

प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै उनीहरु आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए ।





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १३:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया