नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन् ।
मंगलबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भएको उनले बताए ।
पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने स्थिति नरहेको उनको भनाइ छ ।
मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताउँदै उनले आगामी दिनमा बृहत् अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताए ।
नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी गर्दै अध्यक्ष भट्टराईले गठबन्धनमा भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।