प्रचण्ड, माधव र बाबुरामबीच चुनावलगत्तै पार्टी एकता गर्ने सहमति, पार्टीकाे नाम नेकपा समाजवादी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिए । 

चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उनले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए । 

अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताए । वामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउँ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको भन्दै उनले आफूहरुबीचको सो सहमतिलाई कसैले रोकेर रोक्न नसक्ने दाबी गरे । 

अध्यक्ष दाहालले भने ‘अहिले वामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन ।’

यद्यपि, पार्टी एकता भइनसकेको तर चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएको उनले बताए । ‘अहिले चुनाव चिह्न, घोषणा पत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ, उनले भने, 'यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा, देशलाई समृद्धिको दिशातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व छ भन्न चाहन्छु म ।’



यति मात्रै आफूहरुको लक्ष्य नभएको उल्लेख गर्दै दाहालले माधव नेपालजीलगायत वामपन्थीहरुसँग पार्टी एकताका लागि संयोजन समिति बनाउने तयारीरहेको उनले बताए । 

चुनावपछि बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै रहने उनले जानकारी दिए । ‘चुनाव अघि त केही पनि हुँदैन । चुनावपछि नाममा चाहिँ नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ,’ उनले भने, ‘नेकपा राख्ने भन्नेमा भने सहमति भइसक्यो ।’



अध्यक्ष दाहालले बाबुराम भट्टराईहरु पनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आबद्ध दलहरुसँगको सहमतिमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वाससमेत व्यक्त गरे । 

  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १८:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया