सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरूका लागि स्थानीय तहबाट विद्यालय सञ्चालनका लागि अनुमति प्राप्त गर्नुपर्ने हुन्छ । तोकिएको विवरण खुलाई वडा शिक्षा समितिको सिफारिससहित नगर शिक्षा प्रमुख समक्ष अनुमतिका लागि निवेदन दिनुपर्ने वीरेन्द्रनगर नगरपालिकाको शिक्षा ऐनमा उल्लेख छ ।
विद्यालय खोल्न अनुमतिका लागि शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिना अगावै निवेदन दिनुपर्ने उल्लेख छ । पूर्वप्राथमिक विद्यालय तथा कक्षा थप गर्न चाहने विद्यालयहरूले भने शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिना अगावै नगरपालिकाको शिक्षा प्रमुख समक्ष निवेदन दिनुपर्ने ऐनमा व्यवस्था छ । तर, वीरेन्द्रनगर–७ स्थित नेपाल प्रहरी स्कुल भने अनुमति विना कक्षा सञ्चालन गराई रहेको छ । विद्यालयसँग चार कक्षासम्म मात्र सञ्चालनको अनुमति प्राप्त छ । तर यस विद्यालयले भने हाल कक्षा ६ सम्म पठनपाठन गराई रहेको छ ।
सामुदायिक वा संस्थागत विद्यालय सञ्चालनका लागि स्थानीय तह एक मात्र निकाय हो जसले कक्षा सञ्चालनको अनुमति दिने गर्दछ । तर वीरेन्द्रनगर नगरपालिकासँग भने प्रहरी स्कुलले चार कक्षासम्म मात्र अनुमति लिई ६ कक्षासम्म अध्यापन गराई रहेको हो ।
अनुमति विना नै कक्षा सञ्चालन गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि विद्यालयले नै खेलबाड गरिरहेको शैक्षिक गतिविधिमा संलग्न व्यक्तिहरूको आरोप छ । वीरेन्द्रनगर स्थित एक संस्थागत विद्यालयमा अध्यापन गराई रहेका एक जनाले भने, ‘प्रत्येक वर्ष क्रमागत रूपमा संस्थागत विद्यालयले कक्षा थप्न पाउने व्यवस्था छ । शैक्षिक गतिविधिका लागि पर्याप्त सुविधा तथा साधन भएका विद्यालयहरूले कक्षा थप्न पाउँछन् । तर वीरेन्द्रनगरमा नाम चलेको प्रहरी स्कुलले नै अवैधानिक रूपमा कक्षा सञ्चालन गर्दा भने त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य माथि खेलबाड गरेको देखिन्छ ।’
अवैधानिक रूपमा सञ्चालनमा रहेका कक्षाले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य अन्यौलता तर्फ धकेको छ । वर्ष भरी अध्ययन गर्ने तर अध्ययनको वैधानिकता नभएपछि विद्यार्थीको सो आर्थिक वर्ष यत्तिकै खेर जान सक्छ । अर्को कक्षा अध्ययनका लागि उनीहरूसँग कुनै औपचारिक कागजपत्र नै हुँदैन ।
केही समय पहिले, कक्षा सञ्चालनको अनुमति नभएका विद्यालयले भने अध्ययन–अध्यापन आफ्नो विद्यालयमा गराएर अर्को विद्यालयबाट परीक्षा दिन लगाउँथे । उनले भने, ‘आफूले पढाएपनि विवरण भने अन्य विद्यालयबाट भरिन्थ्यो । विद्यार्थीहरू एउटामा पढेर अर्को विद्यालयबाट पास हुन्थे । तर अहिले अवस्था त्यो छैन । अन्तिममा कुनै विद्यालयले मानेन भने विद्यार्थीको त्यो वर्ष त खेर गयो नि ।’ यस विषयमा नगरपालिका समेत मौन बसेको उनको आरोप छ । समयमा नै सुल्झिन सक्ने विषयलाई नगरले ध्यान नदिएको उनी बताउँछन् ।
वीरेन्द्रनगर नगरपालिकाले भने अनुमति विना सञ्चालनमा ल्याइएका कक्षा बन्द गर्न निर्देशन दिएको छ । अनुमति विना कक्षा सञ्चालन गरेको भन्दै नगरले नेपाल प्रहरी स्कुललाई कक्षा सञ्चालन रोक्न निर्देशन दिएको नगर शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्मा बताउँछन् । ‘नेपाल प्रहरी स्कुललाई अनुमति नलिई सञ्चालन गरेको कक्षा बन्द गर्न भनेका छौँ । विद्यालय अनुगमनका क्रममै हामीले उहाँहरूको अनुगमन पुस्तिकामा नै अनुमति विना सञ्चालनमा रहेका कक्षा रोक्न निर्देशन दिएका छौँ’, उनले भने ।
नेपाल प्रहरी स्कुल मात्र नभई वीरेन्द्रनगर नगरपालिका भित्र अन्य विद्यालयहरूले समेत अनुमति बेगर कक्षा सञ्चालन गरिरहेका छन् । विद्यालयहरूमा अनुगमन गरी अनुमति बेगर कक्षा सञ्चालन भएको भेटिएमा नगरले उक्त कक्षा सञ्चालन रोक्न निर्देशन दिएको शर्मा बताउँछन् ।
यस विषयमा सम्बन्धित विद्यालय नै जिम्मेवार रहनुपर्ने बताउँदै शर्माले भने, ‘हामीले विद्यालयलाई नियम अनुसार चल्नुस् भनेका छौँ । अरू बाकी उहाँहरूले नै निर्णय गर्नुहुनेछ । तर अनुमति विना कक्षा तथा विद्यालय सञ्चालन गर्न मिल्दैन ।’अवैधानिक कक्षामा अध्ययनरत विद्यार्थीको भविष्यको सवालमा भने विद्यालय व्यवस्थापक पक्ष, यसका सञ्चालकलगायत विद्यालय परिवार नै जिम्मेवार रहने उनको भनाई छ ।
प्रहरी स्कुल र यहाँ स्थित पद्मलिला विद्यालयसँग मर्जर गरिएको थियो । मर्जरका समयमा पद्मलिला विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई १२ कक्षासम्म नै पढाउने भन्ने सहमति भएको नेपाल प्रहरी स्कुलका प्रधानाध्यापक सुनिल देवकोटा बताउँछन् । मर्जरकै आधारमा प्रहरी स्कुलले अघिल्लो विद्यालयको भौतिक संरचना समेत प्रयोग गर्न पाउने सम्झौता गरिएको थियो । उक्त संरचना भने वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा रहन्छ । मर्जर भएको अघिल्लो विद्यालय पाँच कक्षासम्म भएको र सोही आधारमा प्रहरी स्कुलले हाल ६ कक्षा सञ्चालन गरेको देवकोटा बताउँछन् ।
२०७७ मा विद्यालय मर्जर हुँदा प्रहरी स्कुलसँग चार कक्षासम्म सञ्चालन अनुमति थियो । मर्जर अघिको पद्मलिला विद्यालयले भने पाँच कक्षा सञ्चालन गरिरहेको थियो । सो समयमा श्रीकृष्ण संस्कृत मावि, वीरेन्द्रनगर नगरपालिका र नेपाल प्रहरी आवासीय महाविद्यालयको त्रिपक्षीय सम्झौताबाट विद्यालय मर्जर पश्चात् जग्गा र भौतिक संरचना प्रहरी स्कुलले प्रयोग गरेको हो ।
कक्षा सञ्चालन अनुमति सन्दर्भमा उनले भने, ‘यस विषयमा हामीले प्रदेशमा समेत जानकारी गराएका छौँ । विभागीय पत्राचार पनि गरिरहेका छौँ, समन्वय समेत गरिरहेका छौँ । तर हालको मितिसम्म पनि अनुमति प्राप्त भएको छैन ।’
चालु शैक्षिक सत्रमा पनि कक्षा सञ्चालनको अनुमति प्राप्त नभए वा नगर शिक्षाले अनुमति नदिए विद्यार्थीको भविष्यका लागि अभिभावकलाई जानकारी गराएर कक्षा सञ्चालन बन्द गरिने देवकोटाले जनाए । उनले भने, ‘नेपाल प्रहरी स्कुल अन्य निजी विद्यालय भन्दा फरक ढङ्गले स्थापना भएको विद्यालय हो । मर्जरका समयमा अघिल्ला विद्यालयका बच्चाहरू पढाउने भन्ने थियो, त्यो विषयमा पनि पढाउन तयार छौँ । अथवा नगरपालिकाले राखेका छात्रवृत्तिका विषयमा छ भने पनि त्यो पालना गर्छौँ । तर हामीलाई र अन्य निजी विद्यालयलाई एकै रूपमा नगरले हेरिनुहुन्न भन्ने हाम्रो धारणा हो ।’ यस विषय सम्भवतः चालु शैक्षिक सत्रमै टुङ्गिने उनको विश्वास छ ।
अनुमति नलिई विद्यालय तथा कक्षा सञ्चालन गरेमा वीरेन्द्रनगर नगरपालिका शिक्षा ऐन, २०७४ मा दण्ड सजायको समेत व्यवस्था गरिएको छ । ऐनको दफा ६१ को उपदफा (२) मा ‘अनुमति नलिई मन्टेश्वरी कक्षा, कुनै शैक्षिक कार्यक्रम, शैक्षिक परामर्श सेवा, ब्रिज कोर्स, ट्युसन, कोचिङ सेन्टर, कम्प्युटर, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गरेमा’ दण्ड सजायको समेत व्यवस्था गरिएको छ ।
वीरेन्द्रनगरमा सामुदायिक तर्फ ६६ र संस्थागत तर्फ ८८ वटा विद्यालय सञ्चालनमा रहेको नगरपालिकाको तथ्याङ्क छ । संस्थागत विद्यालय तर्फ आधारभूत तह सञ्चालन गरिरहेका विद्यालयहरूमा १–३ कक्षा सम्मका ११ वटा, १–५ कक्षा सम्मका १३ वटा, र १–८ कक्षा सम्मका १८ वटा विद्यालय सञ्चालनमा छन् । माध्यमिक तह अन्तर्गत वीरेन्द्रनगर १–१० कक्षासम्म अध्यापन गराई रहेका २० वटा र १–१२ कक्षासम्म अध्यापन गराई रहेका २६ वटा विद्यालय वीरेन्द्रनगर भित्र सञ्चालनमा रहेको नगरको तथ्याङ्क छ । यी विद्यालयहरू नगरबाट अनुमति प्राप्त विद्यालयहरू हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।