माओवादी–एकीकृत समाजवादी एकता कति सम्भव ?

मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचनअघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनअघि एमाले र माओवादीले निर्वाचनपछि एकतामा जाने गरी गठबन्धन गरेका थिए । त्यसबाट एमालेले लाभ लिएको थियो र ऊ सबैभन्दा ठूलो दल बनेको थियो । त्यसबेलाको फाइदाको स्वाच चाखेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको पहल थालेका हुन् ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।
वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बाट  हुने उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।

समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु रहनुपर्ने सुझाब दिएको उनले बताए । नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनको भनाइ थियो । 

निर्वाचनको मिति घोषणा हुनुअघि वाम मोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतमलगायत नेता लागेको भए पनि त्यसले मूर्तता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरी निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ, तर वाम दलहरुबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् । प्रचण्डले बाबुराम भट्टराईसँग कार्यगत एकता गरेका छन् । 

नेपाली कांग्रेससँग गठबन्धनमा रहेका नेकपा एस र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँट चुनौतीपूर्ण छ । कांग्रेसले धेरै सिटमा दाबी गरिरहँदा आफूहरु कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखेसँगै एकीकृत समाजवादीले माओवादीसँगको एकताको प्रस्ताव राखेको माओवादीका एक नेताले बताए । 



एकीकृत समाजवादीमा सम्मानीत नेता झलनाथ खनाल भने माओवादी केन्द्रसँग भन्दा एमालेसँगको एकताको पक्षमा रहँदा आएका छन् । उनलाई बाइपास गरेर जान सक्ने अवस्थामा माधव नेपाल नभएकाले चुनावअघि नै एकताको सम्भावना कम हुने ती नेताको अनुमान छ ।



  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १९:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया