मुगु अस्पतालले आठ महिनापछि पायो विशेषज्ञ डाक्टर

जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिनापछि विशेषज्ञ डाक्टर पाएको हो ।
  
गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खातीले बीचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली थियो । यसै समस्यालाई मध्यनजर गर्दै मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षका लागि पठाइएको छ ।    

जिल्लामा विशेषज्ञ डाक्टर ल्याउन जिल्ला स्थित सरोकारवाला निकायको पहलमा र अन्य पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकतासम्बन्धी माग गरिएपछि बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए ।

अस्पतालमा लामो समयसम्म विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि बाहिरी जिल्ला रिफर गर्नुपर्ने अवस्था रहको थियो ।        

अस्पताल लाई विशेषज्ञ डाक्टर पठाएपछि धन्यवाद प्रकट गरेका छन् । अस्पतालमा विशेषज्ञ डाक्टरलाई उपचारको क्रममा आवश्यक पर्ने उपकरण , व्यवस्थापन, काम गर्ने वातावरण राम्रोसँग मिलाइने र अस्पतालमा हुने समस्यालाई समाधानको बाटो छिट्टै खोज्ने अस्पताल विकास समिति अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार भर्खरै आएका विशेषज्ञ डाक्टर शाक्यलाई तलब, भत्ता र अन्य सेवा–सुविधा प्रतिष्ठान र जिल्ला अस्पताल मुगुले आधा–आधा व्यहोर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको मल्लको भनाइ छ । 

आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस्ट, सुत्केरी महिला , पाठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार २१:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया