राजर्षि जनक विश्वविद्यालयमा शिक्षकहरूले फेरि लगाए ताला

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा शिक्षकहरूले पुनः तालाबन्दी गरेका छन् । शिक्षकहरूले जनकपुरधामस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् । 

शिक्षकहरुलाई स्थायी दरबन्दीमा काम गरेको अवधिको गणना गर्नुपर्ने, छोटो अवधिका लागि करारमा नियुक्त गर्नुपर्ने, कार्यरत शिक्षकहरुको हकमा स्थायी भर्नामा उमेरको हदबन्दी हटाउनुपर्नेलगायतका माग गर्दै शिक्षकहरूले भिसी र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका छन् । 

गत पुस २७ गते भिसी र रजिष्ट्रारको पद समाप्त भएपछि उनीहरु घरबाटै बिदा भएका थिए ।  त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १७ गते आर्ट फ्याकेल्टीका डिन डा. शैलेन्द्र नारायण मल्लिकलाई नयाँ कार्यबाहक भिसी र म्यानेजमेन्टका डिन जुगेश्वर साहलाई कार्यबाहक रजिष्ट्रारमा नियुक्त गरेका थिए । 

उनीहरु दुवैजना हाजिर भइसकेपछि शिक्षकहरूको समस्या समाधान गर्न वैशाख ६ गते उनीहरूसँग वार्ता गरी वैशाख ९ गते डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरे । शिक्षकहरुको तर्फबाट पनि समितिमा पेपर कोर्स कन्ट्रयाक्ट संघका सभापति दिलीपकुमार यादव, सचिव रविकुमार राज र शम्भु पोखरेल सामेल भई वार्ता गरेका थिए ।
 
वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भयो, तर भिसी र रजिष्ट्रारले काठमाडौंका डा. देवराज अधिकारीलाई विज्ञ नियुक्त गरेपछि पुनः त्यसमा बखेडा सुरु भयो । विज्ञले विश्वविद्यालयबाट ४ लाख रुपैयाँ शुल्क लिई दिएको रिपोर्ट सार्वजनिक नै नगरी शिक्षकहरुको समस्या समाधान गर्न कुनै चासो नदेखाउँदा आफूहरुले तालाबन्दी गरेको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले बताए ।
 
कार्यबाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिकले विश्वविद्यालयमा आफूखुसी आफ्ना नजिकका व्यक्तिहरुलाई करारमा ३ जना चालक र कम्प्युटर ल्याब टेक्निसियन १ जनालाई नियुक्त गरेको उनले बताए । 

शिक्षकहरू विगतमा पनि सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकोमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलित भएका थिए ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार २२:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया