‘नागरिकता संशोधन विधेयक जतिसक्दो चाँडो लागू गर्नुपर्छ’

संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको विषयलाई लिएर देशविदेशमा चासो उत्पन्न भएको छ ।

राष्ट्रपतिले संसदलाई पठाएको सन्देशमा गैर-आवासीय नेपालीहरूको बारेमा केही उल्लेख नभए पनि विधेयक जारी हुन ढिलो भएको भन्दै प्रवासी नेपालीहरूले चासो देखाएका हुन् । 

गैर–आवासीय नेपाली संघका उपाध्यक्ष दुर्गा आचार्य संसद्को दुवै सदनले पारित गरेर पठाएको  विधेयक फिर्ता पठाउने  राष्ट्रपति भण्डारीको कदमले आफूहरू दुःखी भएको बताए।  ‘यो उहाँको संवैधानिक अधिकार हो । तर, विधेयक पारित गर्न ढिलाइ हुँदा देशभित्र मात्रै हैन, संसारभरि लाखौं गैरआवासीय नेपालीहरू प्रभावित भएको कुरा उहाँले बुझ्नुपर्ने थियो,’ आचार्यले भने ।

गैरआवासीय नेपाली संघ अमेरिकाका सल्लाहकार बेद खरेल विधेयक लागू गर्न अब थप ढिलाइ गर्न नहुने बताउँछन्। ‘राष्ट्रपति भण्डारीले संसदलाई पठाएको पत्रमा गैरआवासीय नेपालीबारे कुनै उल्लेख छैन । यो विषयमा कुनै विवाद पनि छैन । तर विधेयक पारित गर्न भैरहेको ढिलाइले संसारभरि रहेका नेपालीलाई निराश तुल्याएको छ,’ खरेलले भने । उनले अब थप ढिला नगरी विधेयकलाई लागू गर्न नेपाल सरकारलाई आग्रह पनि गरे। 

गैर–आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले राष्ट्रपति भण्डारीको पछिल्लो कदमले राष्ट्रपतिको संस्थालाई नै विवादमा ल्याएको जनाए ।

‘गत वर्ष पूर्ववर्ती सरकारले पठाएको नागरिकता अध्यादेश एक दिनभित्रै राष्ट्रपतिले जारी गर्नु भएको हामीले देख्यौँ । अहिले उक्त अध्यादेशमै रहेको विषयवस्तुमा गैरआवासीय नेपाली नागरिकताको विषय थप गरेर पठाउँदा राष्ट्रपतिले किन फिर्ता गर्नुभयो? त्यो स्पष्ट गरिनुपर्छ,’ सापकोटाले भने । उनले जति सक्दो चांडो विधेयक कार्यान्वयन गरी प्रवासी नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता तथा पासपोर्ट प्रदान गर्न सुरु गर्नु पर्ने जनाए ।



नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएपछि गैरआवासीय नेपाली संघले त्यसलाई स्वागत गरेको थियो ।

‘नेपालको संविधान २०७२ को धारा १४ मा व्यवस्था भएअनुसार गैरआवासीय नेपालीहरुलाई प्रदान गरिने गैरआवासीय नेपाली नागरिकताको समेत प्रावधान राखिएको यस विधेयक कानून बने पश्चात यसअन्तर्गत नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार प्राप्त हुने हुनाले हामी गैरआवासीय नेपालीहरुको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस गरेका छौ,’ संघले भनेको छ ।  



  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ११:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया