‘अस्ट्रेलिया डे’का दिन किन उत्रिए दशौँ हजार आदिवासी सडकमा ?

सिड्नी– अस्ट्रेलियामा दशौँ हजार मानिसले आधुनिक अस्ट्रेलियाको जन्मदिवस (जनवरी २६) मा दिइँदै आएको सार्वजनिक बिदाको विरोधमा प्रदर्शन गरेका छन् ।

सन् १७८८ मा पहिलोपटक ब्रिटिस जहाज अस्टेलियाको सिड्नी आइपुगेको दिन जनवरी २६ लाई सरकारले ‘अस्ट्रेलिया डे’का रुपमा मनाउँछ । जसमा, आदिवासी अस्ट्रेलियनहरुले विरोध जनउँदै आएका छन् । 

कोलोनाइजेसनको सुरुवात भएको दिनलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन नहुने उनीहरुको तर्क छ । ५० हजार वर्षदेखि अस्ट्रेलियन महाद्वीपमा बस्दै आएका आदिवासीहरु यो दिनलाई ‘इन्भ्याजन डे’ अर्थात् आक्रमण दिवस मान्दछन् । 

‘आज कालोनाइजेसन र वंशविनाशको सुरुवात भएको दिन हो, शनिबार सिड्नीको र्यालीमा संलग्न १७ वर्षीय प्रदर्शनकारी जयडेन रिलेलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, ‘यो ‘अस्ट्रेलियन हुनु’मा मनाइने उत्सवको इन्कार होइन । यो दिनले हामीमा केवल ‘अस्ट्रेलियन हुनु’भन्दा ज्यादा महत्व राख्छ । मेरी हजुरआमाको चोरिएको पुस्ता, जस्तो कि, उनलाई आफ्नो परिवारबाट अलग गरिएको थियो, र क्याथोलिक बन्न ब्रेनवास गरिएको थियो ।’

सिड्नीको एउटा र्यालीमा हजारौँ मानिसले ‘यो सधैँ स्वतन्त्र आदिवासी भूमि थियो, र रहनेछ’, ‘वंशविनाशमा कुनै गर्व छैन’जस्ता नारा घन्काए । यस्तै, मेलबर्न, क्यानबेरा लगायत अस्ट्रेलियन सहरहरुमा कैयौँ हजारले प्रदर्शन गरे । 



प्रधानमन्त्री स्कट मोरिसनको सरकारले भने जनवरी २६ को सार्वजनिक बिदामा कुनै परिवर्तन नगर्ने अडान लिएको छ । शनिबार क्यानबेरामा एक सरकारी उत्सवमा सहभागी प्रधानमन्त्री मोरिसनले बेलायती उपनिवेशसँगै सुरु भएको आधुनिक अस्ट्रेलियाको निर्माण प्रक्रिया कुनै क्रूरता या हरण नभई आदर्शवाद र ज्ञानको उदय भएको बताएका छन् । 



‘यी महान् विचारहरु आधुनिक अस्ट्रेलियाका आधार हुन्, जसले हामीलाई महान् कथाका नवीनतम अध्यायतर्फ स्थानान्तरण गरेका छन्, जुन हामी सबैले मिलेर लेखेका हौँ,’ उत्सव मनाउन भेला भएका हजारौँमाझ प्रधानमन्त्री मोरिसनले भने । 

अस्ट्रेलियाका ७ लाख आदिवासीहरु यहाँका साढे दुई करोड जनतामाझ आर्थिक र अन्य सबैजसो सूचकांकमा पुछारमा छन् । आधुनिक अस्ट्रेलियाको उत्पत्ति भन्ने गरिएको १७८८ को घटनालाई उनीहरु उपनिवेशको थालनी र आफ्नाका पुर्खाले भोगेका वंशविनाशको सुरुवातका रुपमा लिन्छन् । 

अस्ट्रेलियामाथि बेलायतको कोलोनाइजेसनको प्रक्रिया १७८८ मा सुरु भएको थियो । यद्यपि, अस्ट्रेलियामाथि बेलायतले पहुँच भने १९७० मा क्याप्टेन कुकको पानीजहाज ‘इन्डिभर’को आगमनसँगै स्थापित भएको थियो । अस्ट्रेलिया ल्यान्ड गर्नेबित्तिकै कुकले यो भूमि ‘ब्रिटिस टेरिटोरी’को हिस्सा भएको दाबी गरेका थिए । 

प्रत्यक्ष उपनिवेशको अन्त्य भए पनि अस्ट्रेलिया अझै कमनवेल्थ राष्ट्रको संगठनमा आबद्ध छ, र बेलायती महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुख मान्छ । 
 

  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १८:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया