कैलालीमा चुनावी रणनीतिमा जुटे दल, कहाँबाट उम्मेदवारी दिँदैछिन् आरजु?

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएसँगै राजनीतिक दलहरू चुनावी रणनीति बनाउनमा जुटेका छन् । सरकारले आसन्न ४ मंसिरमा निर्वाचनको मिति तय गरेसँगै आफ्ना उम्मेदवारलाई निर्वाचित गराउने गरी दलहरू रणनीति बनाउन जुटेका हुन् । 

नेपाली कांग्रेस कैलालीले पनिपार्टीका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य, जिल्ला समितिका पदाधिकारी, भातृ संघ/संगठनको प्रतिनिधित्वमा छलफल पार्टी कार्यालयमा अघि बढाएको छ । छलफलमा पार्टीका पदाधिकारी तथा नेताहरूले उम्मेदवार चयन गर्दा आफ्नाेभन्दा पनि जनताले रुचाएको व्यक्तिलाई छान्न सुझाव दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा कैलालीमा कांग्रेसले अपेक्षा गरेका स्थानीय तहमा पराजय व्यहोर्नु परेको थियो । स्थानीय निर्वाचनमा कांग्रेसको पकड क्षेत्र मानिएको स्थानमा पराजय भोगेसँगै नेता तथा कार्यकर्ताले केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्वमाथि प्रश्न गरिरहेका छन । 

‘कांग्रेसको बलियो जिल्ला कैलाली मानिन्छ । हाम्रा उम्मेदवारले यहाँका स्थानीय तहमा निर्वाचित हुन सक्नुपर्ने थियो । तर, हामीले जिल्ला, प्रदेश र केन्द्रका कारण स्थानीय तहमा पराजय भोग्नुपरेको छ,’ भजनी नगरपालिकामा नगर प्रमुख पदमा पराजय बेहोरेका गोकेन्द्र भण्डारीले भने, ‘हामीले सक्षम उम्मेदवारलाई निर्वाचनबाट भाग लिन दिएनौँ त्यसैले पराजयको परिणाम भोग्नुपर्‍यो । अब उप्रान्त यस्तो गल्ती नदोहोरियोस् ।’

उनले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेताको पहुँचमा रहेका भन्दा पनि जनतामाझ रुचाइएका व्यक्तिलाई उम्मेदवार बनाउन सुझाव दिए । कांग्रेसको तरुण दलमा आवद्ध रहेका युवा नेता तपेन्द्र भुषालले जिल्लामा भौगोलिक, क्षेत्रीय, जातीयलगायत नाराका कारणले पनि पार्टीले धेरै तहमा पराजय भोग्नु परेको बताए ।

‘कांग्रेस हुँ भन्नेले आफनो नातागोता, इष्‍टमित्र, जिल्लावासीले उम्मेदवार हुन नपाएपछि विरोध गर्ने प्रवृति देखियो । जबसम्म पार्टीमा लागेका मान्छे पार्टीलाई विजयी गराउन जुट्दैन, यहाँ गरिएका समीक्षा, योजनाहरू कुनै रूपमा प्रभावकारी हुँदैन,’ उनले भने । 



कांग्रेस मात्र नभई अन्य ठूला दलहरूलाई कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा आफ्ना उम्मेदवारलाई विजयी गराउन चुनौती थपिएको छ । स्थानीय तहको निर्वाचनमा कैलालीका चारवटा स्थानीय तहमा रेशम चौधरी पत्नी रञ्जिताको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भएका कारण अन्य दललाई चुनौती बनेको छ । 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ रेशम चौधरीको पकड क्षेत्र हो भने निर्वाचन क्षेत्र नम्बर ३ थारू समुदायको बाहुल्य भएको क्षेत्र हो भने निर्वाचन क्षेत्र नम्बर २ मा पनि अन्य दलहरूले पराजय भोग्नुपर्ने आशय व्यक्त गरिरहेका छन् । 



सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति तय गरेसँगै अहिले चियापसल, चोकचौतारामा उम्मेदवार र जित्नसक्ने आधारको बारेमा चर्चा हुन थालेको छ । जिल्लामा सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ५ मा नजर छ । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीले निर्वाचनमा उम्मेदवार बनेका कारण पनि अहिले यो क्षेत्रमा केन्द्रकै चासो छ ।    

०७४ को निर्वाचनमा यो क्षेत्रमा आरजु नेकपा एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । आसन्न निर्वाचनमा आरजु कैलाली–५ बाट उम्मेदवारी दिने चर्चा छ । साथै, उनको नजर डडेल्धुरा र बर्दियामा पनि छ ।  

  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार ९:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया