आन्तरिक राजश्व कार्यालय धनगढीले पूरा गर्न सकेन राजश्व संकलनको लक्ष्य

आन्तरिक राजश्व कार्यालय धनगढीले गत आर्थिक वर्ष २०७८/८९ मा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयले ५ अर्ब ७८ करोड १२ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ अर्ब ९४ करोड ९९ लाख ७२ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशत कम हो । 

आन्तरिक राजश्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गा प्रसाद पौडेलका अनुसार कुल राजश्वका शीर्षक मध्ये गत आर्थिक वर्षमा आय कर र स्वास्थ्य सेवा कर भने लक्ष्य भन्दा बढी संकलन भएको छ । 

आयकरतर्फ रु.  १ अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिएकोमा रु. १ अर्ब ४० करोड, ९२ लाख ४ हजार संकलन भएको छ ।  स्वास्थ्य सेवा करतर्फ रु. ५ करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा झन्डै ५९ प्रतिशत बढी अर्थात रु. ९ करोड ३७ लाख ६ हजार संकलन भएको छ ।

घर बहाल कर रु. ४ करोड ३७ लाख ३४ हजार संकलन गर्ने लक्ष्य राखिएको मा रु. २ करोड ७७ लाख २६ हजार संकलन भएको छ । ब्याज कर रु. ४ करोड ९७ लाख ९१ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा रु. २ करोड ३७ लाख २२ हजार संकलन भएको सूचना अधिकारी पौडेलले बताए । मूल्य अभिवृद्धि करतर्फ रु १ अर्ब ४१ करोड ४९ लाख ४३ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा रु. ९६ करोड ४८ लाख ५९ हजार संकलन भएको छ । अन्त शुल्क करतर्फ रु. २ अर्ब ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा रु. १ अर्ब ४३ करोड ७ लाख ४१ हजार संकलन गरिएको छ । जुन लक्ष्य भन्दा ५० प्रतिशत कम हो । 

आन्तरिक राजश्व कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरेको भए पनि १३ हजार संकलन भएको जनाएको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा भने लक्ष्य भन्दा २३ प्रतिशत बढी राजश्व संकलन भएको थियो । सो आर्थिक वर्षमा रु. ४ अर्ब ५० करोड १० लाख ५४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा रु. ५ अर्ब ५३ करोड ६ लाख ३० हजार रुपैयाँ १२३.५४ प्रतिशत राजश्व संकलन भएको थियो । 

सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन हुनुको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको रहेको जनाए । उनले दरबन्दी अनुसारका कर्मचारी नहुँदा राजश्व संकलनमा कमी आएको बताए । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा रु. ४ अर्ब ७६ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार ९:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया