स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरूपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारिन् । 

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उनले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वाससमेत व्यक्त गरिन् । 

उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । नेपाल सरकारमा सम्वद्ध संस्थाले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।’

राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउनसमेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन् । 

राष्ट्रपति भण्डारीले कोभिडको कठीन घडीमा पनि बिरामीको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीको पनि प्रशंशा गरिन् । 



कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले आम जनताले सेवा पाउने गरी सो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशमा बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेसिन नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताए । 

राज्यमन्त्री केसीले भने, ‘निकट भविष्यमा विश्वमा रहेका अत्याधुनिक मेसिन, औजार भित्र्याउने र सेवा विस्तार गरेर त्यसलाई सर्वसुलभ बनाउने मन्त्रालयले योजना बनाएको छ । आम जनतालाई सो सेवा पाउने गरी सबै जिल्ला र प्रदेशको प्रसूति सेवासहितको अस्पतालको व्यवस्था गरिनेछ ।’



राज्यमन्त्री केसीले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकार प्रयासरत रहेको पनि बताए ।

  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १५:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया