कर्णालीका सबै वडामा छैनन् स्वास्थ्य चौकी, जनशक्तिको पनि उस्तै अभाव

साउन महिनामा जाजरकोटको वारेकाट गाउँपालिका–३ बस्ने मीना नेपालीले बाटोमै शिशुलाई जन्म दिइन् । नजिकैको स्वास्थ्य संस्था लिम्सा लैजाँदै गर्दा उनी बाटोमै सुत्केरी भइन् । सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य संस्था तर्फ लैजाँदै गर्दा उनले ६ घण्टा लामो यात्रा गर्नु परेको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिकामा पनि मीना जस्तै जन्ममाया सुनार बाटोमै सुत्केरी भइन् । दुई दिनसम्म व्यथाले च्यापेपछि उनलाई स्वास्थ्य संस्था तर्फ लगिएको थियो । स्वास्थ्य चौकी नपुग्दै उनले शिशुलाई जन्म दिइन् । साउन दोस्रो साता मुगुको खत्याड गाउँपालिकामा एक महिलाले सडकमै बच्चालाई जन्म दिइन् ।

खत्याड–३ कि ४१ वर्षीय जौकला नेपालीले अस्पताल तर्फ जाँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी हुन् । सुत्केरी व्यथाले च्याप्न थालेपछि जिल्लाको सदरमुकाम गमगढी स्थित जिल्ला अस्पताल लैजाँदै गर्दा जौकलाले बाटोमै शिशुलाई जन्म दिएकी हुन् । घर छेउ स्वास्थ्य संस्था नहुँदा कर्णालीका धेरै सुत्केरी महिलाले यस्तै सास्ती खेप्नु परी रहेको छ । बिरामीलाई पनि समस्या उस्तै छ ।

कर्णालीमा कुल सात सय १८ वटा वडा छन् । सरकारको स्वास्थ्य रणनीति अनुसार आधा घण्टा पैदल यात्राको दुरीमा स्वास्थ्य संस्थाको पहुँच स्थापना गर्ने छ । यसले प्रत्येक वडामा स्वास्थ्य संस्थाको व्यवस्था हुनुपर्ने औंल्याएको छ । तर कर्णालीका २८ वडामा अझै पनि स्वास्थ्य चौकीहरू सञ्चालनमा आउन सकेका छैनन् । 

कर्णालीको कुल जनसंख्याको २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र नजिकको स्वास्थ्य संस्था पुग्न सक्ने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक छ । प्रत्येक वडा स्थित स्वास्थ्य चौकीमा चार जना जनशक्तिको व्यवस्थापन गरिएको हुन्छ । हेल्थ असिस्टेन्ट, नर्स, कार्यालय सहयोगी र खोप सम्बन्धीका एक–एक जना वडाको स्वास्थ्य चौकीमा जनशक्ति व्यवस्थापन छ ।

सुर्खेतका तीन वटा वडामा हालसम्म पनि स्वास्थ्य चौकी स्थापना गरिएको छैन । सल्यानमा तीन वटा वडा, रुकुम पश्चिममा दुई वटा वडामा स्वास्थ्य चौकीको स्थापना हुन सकेको छैन । मुगु र हुम्लामा एक–एक वटा वडामा स्वास्थ्य चौकी हालसम्म पनि स्थापना भएका छैनन् भने डोल्पाको आठ वटा वडामा स्वास्थ्य चौकी छैनन् ।



वडा गत स्वास्थ्य चौकी नभएको जिल्ला मध्य डोल्पा जोखिममा देखिन्छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं. १, ६ र ९ मा स्वास्थ्य चौकी स्थापना भएका छैनन् । यसै गरी डोल्पोबुद्व गाउँपालिकाको वडा नं. १, २, ४ र ५ मा र जिल्लाकै छार्का ताङसोङ गाउँपालिकाको वडा नं.१ मा स्वास्थ्य चौकी स्थापना नभएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

भौगोलिक समस्याकै कारण पनि कर्णालीका महिलालाई स्वास्थ्य चौकी नपुग्दै बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता देखिन्छ । यस्तो अवस्थामा वडा गत स्वास्थ्य चौकीको स्थापनाको साटो भौगोलिक आधारमा स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थाहरूको स्थापना गरिनुपर्ने अनौपचारिक सेवा केन्द्र (इन्सेक)को वीरेन्द्रनगर कार्यालयका कार्यक्रम अधिकृत नारायण सुवेदीको भनाई छ ।



‘हामीले वडा गत रूपमा स्वास्थ्य संस्थाको स्थापना गर्‍यो। जग्गा प्राप्ति भएका स्थानमा स्वास्थ्य संस्था बनायौँ तर आवश्यकताको आधारमा स्वास्थ्य संस्था स्थापनालाई ध्यान दिएका छैनौँ’, सुवेदीले भने, ‘जनघनत्व तथा बस्तीको आधारमा स्वास्थ्य संस्था स्थापना गरिनुपर्छ । नागरिकलाई पायक पर्ने स्थानको छनौट गरी स्वास्थ्य चौकीहरूको स्थापनामा ध्यान दिइनुपर्छ ।’

डोल्पामा कुल ६५ वडा छन् । जस मध्य आठ वटा वडामा स्वास्थ्य चौकी स्थापना भएका छैनन् । र, १० वटा वडामा स्थापना भएका स्वास्थ्य चौकी अहिले सञ्चालनमा छैनन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी पदमबहादुर केसीले भने, ‘कर्णालीका अन्य जिल्लाको तुलनामा डोल्पा स्वास्थ्य क्षेत्रका रूपमा जोखिममा देखिन्छ । यहाँका तीन स्थानीय तहहरूमा स्वास्थ्य चौकी स्थापना भए पनि सञ्चालनमा आएका छैनन् ।

जिल्लाको काइके गाउँपालिकाको वडा नं. १, ३, ४, ५ र ७ स्थित स्वास्थ्य चौकी सञ्चालनमा आएका छैनन् । यसै गरी काईके गाउँपालिकाका १, ३, ४, ५ र ७ नं. वडा स्थित स्वास्थ्य चौकी तथा छार्का ताङसोङ गाउँपालिकाको २, ५ र ६ नं. वडा स्थित स्वास्थ्य चौकी सञ्चालनमा नआएको केसीले जानकारी दिए ।

ग्रामीण भेगमा जनशक्ति अभाव, भौगोलिक विकटतालगायतका कारणले यी स्वास्थ्य चौकी सञ्चालनमा नआएको उनी बताउँछन् । कर्णाली प्रदेशभरि कुल तीन सय ५९ वटा बर्थिङ् सेन्टरहरू छन् । ८७.१ प्रतिशत महिला स्वास्थ्य संस्थामै प्रसूति हुने र २६ हजार ४ सय ८१ (६९.६ प्रतिशत) महिला दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी हुने गरेको उनको दाबी छ । 

निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले पछिल्लो समय दुर्गम भेगमा बर्थिङ सेन्टरहरू थपिँदै गएकाले महिलाहरूलाई प्रसूति हुन सहज भएको दाबी गरे । कर्णालीमा सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन् र सबैभन्दा कम बर्थिङ सेन्टर गृह डोल्पामा १४ वटा रहेको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी केसीले जानकारी दिए ।

अन्य प्रदेशको तुलनामा कर्णालीको भूगोल फरक छ । अन्य प्रदेशका वडाहरू स्थित स्वास्थ्य चौकीमा आधि घण्टा पैदल यात्रामा पुग्न सकिन्छ भने कर्णालीमा त्यो सम्भव छैन । कर्णालीको ग्रामीण भेगका प्राय वडाहरू पार गर्न निकै समय लाग्छ । 

  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १०:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया