बुवा वडा सचिव, छोरा सरकारी मोटरसाइकल सिक्ने सिकाउने

बझाङको जयपृथ्वी नगरपालिकाले जनप्रतिनिधिका लागी भनेर वितरण गरेका सवारी साधनको दुरुपयोग भएको पाइएको छ । वडाध्यक्ष र वडाका कर्मचारीहरूले दिने सेवा प्रवाहमा सहजता होस् भनेर नगरपालिकाबाट वितरण गरिएका सवारी साधनको दुरुपयोग हुने गरेको पाइएको हो । 

स्थानीय तहको पहिलो कार्यकालमा जनप्रतिनिधिको रूपमा आएका जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७४/०७५ मा सबै वडाका वडाध्यक्ष र अन्य नगरपालिकाका कर्मचारीहरूका लागी भन्दै मोटरसाइकल वितरण गरेको थियो । तर नगरपालिकाले वितरण गरेका सवारी साधनहरू वितरण गरेको समय देखी नै दुरुपयोग हुँदै आएको छ । 

नगरपालिकाले दिएका सवारी साधनहरूलाई सवारी चालक अनुमति पत्र नै नभएका व्यक्तिहरूले जथाभाबी चलाउने, कार्यालयको कामभन्दा पनि व्यक्तिगत काममा बढी प्रयोग हुने, वडाका जनप्रतिनिधि र कर्मचारी हरूभन्दा बढी बाहिरका व्यक्तिहरूले प्रयोग गर्ने गरेका छन् । 

सरकारी नम्बर (से. १ ब ११७१) प्लेटको मोटरसाइकल सिकारु ले कुदाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । भाइरल भिडियोमा प्रयोग भएको मोटरसाइकल जयपृथ्वी नगरपालिकाको भएको फेला परेको छ । 

उक्त मोटरसाइकल सरकारी सेवा प्रवाहमा प्रयोग गर्न भन्दै जयपृथ्वी नगरपालिकाका वडा नम्बर १ मा कार्यरत अजयबहादुर सिंहले लिएका छन् । तर उक्त मोटरसाइकल भने जिल्ला सदरमुकाम चैनपुरमा उनका छोरा समन्द सिंहले सिक्न सिकाउन का लागि प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ । 

भिडियोमा मोटरसाइकल चलाउन सिक्न सिकाउन प्रयोग भएको देखिन्छ । बाँझो खेतमा उक्त मोटरसाइकल चलाउने दुई तीन जना मध्य एक वडा सचिवका छोरा समन्द हुन् । उनैले उक्त मोटरसाइकल त्यहाँ ल्याएका हुन् । सवारी चालक अनुमति पत्र र उक्त सवारी सञ्चालन गर्ने कुनै पनि आबद्धता नभए पनि उनले दैनिक बुवाको नामको मोटरसाइकल प्रयोग गर्दै आएका हुन् । उक्त मोटरसाइकल बेलाबखत दुरुपयोग हुँदै आएको स्थानीयले समेत बताउने गरेका छन् ।



जयपृथ्वी नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन्  । उनले वडा कार्यालयको मोटरसाइकल वडा सचिवको साथमा रहेको कारण कसरी दुरुपयोग भयो भन्नेबारेमा आफूलाई कुनै जानकारी नभएको बताए । आफूले भने उक्त मोटरसाइकल हालसम्म प्रयोगसमेत नगरेको वडाध्यक्ष सिंहले बताएका छन् ।

यता जयपृथ्वी नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापाले भने सरकारी सवारी साधनलाई दुरुपयोग गर्न नपाइने बताउँदै कसैले गरेको पाइएमा नगरपालिकाले कारबाही गर्ने बताए । उनले नगरपालिकाको काम र वडाको कामबाहेक अन्य काममा सवारी साधन प्रयोग गर्न नपाइने र व्यक्तिगत काममा बिना अनुमति पालिकाको सवारी साधन हाँक्न नमिल्ने बताए । भाइरल उक्त भिडियोका बारेमा बुझ्ने पनि उनले बताए ।  



  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार ११:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया