बझाङमा शिक्षक नियुक्ति विवादः परीक्षा समितिलाई कारबाही गर्ने विव्यस अध्यक्षको चेतावनी

बझाङको केदारस्यूँ गाउँपालिकाको एक विद्यालयमा शिक्षक नियुक्ति विवादमा तानिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै परीक्षा समितिले त्रुटि गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । केदारस्यूँ गाउँपालिका वडानं ४ बागथलामा रहेको शिक्षोदय माध्यमिक विद्यालयमा दुईजना शिक्षकको नियुक्तिमा चलखेल भएको भन्दै विवादमा तानिएको हो । 

विद्यालयले साउन १२ गते प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङतर्फ सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदका लागि दुईजना शिक्षकको दरखास्त आह्वान गरेको थियो । विज्ञापनमा सहायक प्रशिक्षकका लागि प्रवीणता प्रमाणपत्र तहमा २.८ जिपिए न्यूनतम योग्यता तोकिएको छ भने प्रशिक्षण सहायकको लागि माध्यमिक शिक्षा परीक्षामा २ जिपिए न्यूनतम योग्ता तोकेको छ । 

विद्यालयले लिखित परीक्षा सञ्चालन गरी अन्तरवार्ताका लागि ५ जनालाई छनोट गरेको छ । हेमन्तराज भट्ट, दिनेश भण्डारी, भोजराज भट्ट, सुरेश मल्ल अन्तरवार्ताका लागि छनोट भएका थिए । 

३ भदौमा अन्तिम नतिजा प्रकाशन गर्दा हेमन्तराज भट्ट र सुरेश मल्ल छनोट भएका छन् । छनोट भएकामध्ये हेमन्तराज भट्टको शैक्षिक योग्यता दरखास्तमा उल्लेख भएबमोजिमको नभएको स्थानीयको भनाइ छ । स्थानीय चक्र गुर्धामी भन्छन्, ‘दरखास्तमा प्रशिक्षक सहायकका लागि प्रविणता प्रमाणपत्र तहमा २.८ जिपिए ल्याउनुपर्ने मापदण्ड बनाइएको छ, तर हेमन्तराज भट्टको जिपिए त्यति पुग्दैन । परीक्षा समितिले चलखेल गरेर योग्य व्यक्तिमाथि अन्याय गरेको छ ।’

नतिजा प्रकाशन भएपछि बागथला बजारमा परीक्षार्थी तथा उनीहरुका आफन्तले प्रधानाध्यापक र शिक्षा समितिका प्रतिनिधिविरुद्ध विरोध जनाएका थिए । हाताहालाहालको स्थिति उत्पन्न भएको थियो । परीक्षा समितिमा बसेका प्रधानाध्यापक गगनबहादुर विष्ट, शिक्षा कार्यालयका प्रतिनिधि र विषय विज्ञले पैसा खाएर प्रश्न पत्र चुहाएको स्थानीयको आरोप छ । 

यसबारेमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मल्लले विरोध जनाएका छन् । परीक्षा समितिबाट त्रुटि भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनीसमेत विव्यस अध्यक्ष मल्लले दिएका छन् । उनले फेसबुकमार्फत उक्त चेतावनी दिएका हुन् । 



मल्लले लेखेका छन्, ‘मापदण्डविपरीतका व्यक्तिलाइ परीक्षामा समावेश गराइको भन्ने व्यापक गुनासो सामजिक सन्जालमार्फत सुन्नमा आएकोले मेरो अनुपस्थिति मा (निष्पक्ष गराउने विश्वासको सहमतिमा) गराइएको यो परीक्षामा कहीँ न कहीँ परीक्षा समितिबाट त्रुटि भएको आभास भइराखेको छ । त्यसकारण विव्यसले बनाएका मापदण्डविपरीत गल्ती किन दोहरिएको हो यसको छानबिन अवश्य गर्ने नै छु र यथाशीघ्र कारबाही पनि गर्ने प्रतिबद्धता गर्दछु ।’

यसबारेमा प्रधानाध्यापक गगनबहादुर विष्टलाई बुझ्न खोज्दा उनको मोबाइल अफ गरिएको भेटियो ।



 

  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १९:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया