स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा साविक विजेता रियल मड्रिड विजयी भएको छ । ऊ घरेलु टोली सेल्टा भिगोविरुद्ध ४–१ ले विजयी भएको हो ।
स्टेडियो डी बलाइडोसमा रियललाई जित दिलाउन करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भालभर्डेले एक–एक गोल गरे । सेल्टा भिगोका लागि इयागो आसपासले एक गोल फर्काए ।
खेलको १४ औं मिनेटमै बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । २३ औं मिनेटमा आसपासले पेनाल्टीमै गोल गर्दै सेल्टा भिगोलाई १–१ को बराबरीमा ल्याए । ४१ औं मिनेटमा मोड्रिचले पाहुना टोलीलाई २–१ ले अघि बढाए ।
५६ औं मिनेटमा भिनिसियसले रियलका लागि तेस्रो गोल गरे । ६६ औं मिनेटमा भालभर्डेले गोल गर्दै टोलीलाई ४–१ को सहज जित दिलाए ।
८७ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई रियलका इडेन हाजार्डले सदुपयोग गर्न सकेनन् । योसँगै लगातार दोस्रो जित निकालेको रियल दुई खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहँदा पराजित सेल्टा भिगो समान खेलमा एक अंकका साथ १४ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अर्को खेलमा रियल बेटिसले मालोर्काविरुद्ध २–१ को जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।