नेपाली कथानक चलचित्र ‘प्रकाश’को प्रिमियर सो जुम्लाको एक दुर्गम गाउँमा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर सो जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाको तिर्खु गाउँमा गरिने भएको हो ।
झण्डै २ घण्टा समय अवधि रहेको उक्त ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र वैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायांकन गरिएको थियो । प्रिमियर साका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला पुगेका छन् ।
प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित
चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झण्डै २ करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुवेदीले भने, ‘चलचित्र, भारत, अमेरिका, जापान, अष्ट्रेलियालगायतका दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदै छ । गीत, टेलरबाट राम्रो प्रतिक्रिया आएको छ । हाल सम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौँ ।’ साथै अस्ट्रेलियाबाट चलचित्र प्रदेशले उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिनेछ ।
आइतबार पत्रकार भेटघाटमा नायक प्रदीप खड्काले पहिलोपटक प्रकाश चलचित्रको प्रिमियर सो तिर्खु गाउँमा हुन थालेको बताए । उनले भने, ‘अक्सर चलचित्रको वर्ल्ड प्रिमियर सो काठमाडौंका महँगा हलहरूमा रेडकार्पेटका साथ गर्ने, सेलिब्रिटीहरूका बीच गर्ने चलन छ । तर, जुम्लाकै परिवेश समेटिएको फिल्म भएकोले प्रकाशको वर्ल्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौँ ।’
जुम्लाको एक युवाले शिक्षक बन्न गरेको संघर्ष, हुँदा खाने र हुने खानेबीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रर्वद्धनको विषयले चलचित्रले जोड दिएको लेखक विकास सुवेदीले बताए । उनका अनुसार जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँमा वर्ल्ड प्रिमियर गरिएको हो ।
राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओजेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दामार्फत राज्यको मूल प्रवाहमा ल्याउन, विम्बात्मक रूपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ । चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । भने, ‘राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत छ ।
चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । साथै जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार, धनराज सुनार, पूर्णप्रसाद चौलागाईं, राजकली महतलगायतले चलचित्रमा अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।