सुदूरमा विद्युत् उत्पादनको ठूलो सम्भावना : सरकारी लगानी न्यून, निजी क्षेत्र धमाधम निर्माणमा

सुदूरपश्चिम राज्यको नजरबाट खासै प्राथमकितामा पर्दैन । प्राय: सुदूरपश्चिम सुदूरकै रूपमा हेरियो । सुदूरपश्चिम प्रदेशमा सम्भावना प्रचुर भए पनि त्यसको पहिचानका लागि सरकारले काम गर्न सकेको छैन ।

यहाँ जलविद्युतको क्षेत्रमा मात्र काम गर्न सके पनि प्रदेशलाई समृद्ध बनाउन सकिने अवस्था छ । पछिल्लो समय प्रदेशका विभिन्न जिल्लाका खोला तथा नदीहरूमा जलविद्युत् उत्पादनका लागि काम पनि भइरहेका छन् ।

विद्युत् उत्पादन क्षमता राम्रो भएको मानिएको बझाङमा जलविद्युत आयोजना निर्माणका कामले तीव्रता पाइरहेका छन् । बझाङसँगै सुदूरपश्चिमको अर्को जिल्ला दार्चुलामा पनि निजी क्षेत्रले ठूलो लगानी गरेर जलविद्युत् निर्माणमा तीव्रता दिइरहेका छन् । 

बझाङका ५६ प्रतिशत नागरिकहरू अझैं राष्ट्रिय प्रसारण लाइनको विद्युतबाट वञ्चित छन् । प्रदेशभर ३० प्रतिशत नागरिक विद्युत् सेवा उपभोग गर्न पाएका छैनन् । सुदूरपश्चिम प्रदेशमा विद्युत् उत्पादन क्षमता धेरै भए पनि नेपाल सरकारको लगानी दार्चुलामा बनेको ३० मेगावाटको चमेलिया जलविद्युतबाहेक अन्यमा शून्यजस्तै छ । 

अहिलेसम्म निजी र सरकारी गरी प्रदेशभित्र ५२ मेगावाट विद्युत् मात्र उत्पादन भएको छ । तर, सरकारी लगानीलाई नै चुनौती दिँदै सुदूरपश्चिम प्रदेशका बझाङ र दार्चुला जिल्लामा अहिले भने अर्बौंको लगानीमा जलविद्युत् आयोजनाका कामहरू भइरहेका छन् । 

कालंगा हाइड्रो पावरले बझाङको बुंगल नगरपालिकामा अहिले तीन ठाउँमा काम गरिरहेको त्यसका  सञ्चालक वीरेन्द्र मल्लले बताए । उनका अनुसार ३८ दशमलव ४६ मेगावाटको कालंगा जलविद्युत् आयोजना, १६ मेगावाटको सानी गाड जलविद्युत् आयोजना र ६५ मेगावाटको अपरकालंगा हाइड्रो आयोजनाबाट ८० मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारी हुँदैछ ।



जयपृथ्वी नगरपालिका–८ मा १ मेघावाट क्षमताको जुइलीगाढ जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । त्यसैगरी जयपृथ्वी नगरपालिका–५ मा रहने गरी चैनपुर जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ । २०७२ यता जलविद्युतको सम्भावना रहेका अधिकांश खोलाहरूमा जलविद्युत् उत्पादन र सर्भेको लाइसेन्स लिने निजी कम्पनीको सङ्ख्या बढेको छ ।

जिल्लाका जलविद्युतको सम्भावना रहेका अधिकांश खोलाको लाइसेन्स निजी क्षेत्रले लिइसकेको छ । 



उता, दार्चुलामा अपी हाइड्रोपावर तथा मकगरीगाड हाइड्रोपावरले ८ देखि ६० मेगावाट सम्मका विद्युत् आयोजनाको निर्माण गर्दै आएको छ । दार्चुलामा ८ मेगावाट क्षमताको अपर नौगाड साना जलविद्युत आयोजनाको निर्माण अपी पावरकम्पनीले सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ ।

यस्तै, दोस्रो आयोजना ८ मेगावाट र ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको काम पनि तीव्र गतिमा अघि बढेको मकगरीगाड हाइड्रोपावरले जनाएको छ । 

बझाङका विभिन्न नदी तथा खोलामा गरेर निजी क्षेत्रले झन्डै २२ अर्ब लगानी गरेर जलविद्युत् निर्माणको काम भइरहेको छ । दार्चुलामा पनि झन्डै १७ अर्ब लगानीमा जलविद्युत निर्माणमा निजी क्षेत्रको लगानी आएको छ । बझाङ र दार्चुलामा साना ठूला गरी झन्डै एक दर्जन जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

यी साना ठूला आयोजनामा गरेर निजी क्षेत्रको लगानी ४० अर्ब नजिक पुगेको छ । हाल सुदूरपश्चिम प्रदेशभित्र १ सय १४ मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजनाको निर्माण भइरहेको कालंगा हाइड्रो पावरका सञ्चालक मल्लले बताए ।

‘निर्माणाधीन कालंगा हाइड्रोका तीनवटा प्रोजेक्ट मध्ये कालंगा हाइड्रो पावरको परीक्षण सकिएर चमेलिया जलविद्युत् आयोजनासँग जोड्नका लागि विद्युत् लाइन विस्तार भइरहेको छ । बाँकी सानी गाड र अपर कालंगाको काम ८० प्रतिशत सकिएको छ,’ उनले भने ।

  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १२:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया