सुदूरपश्चिम र दलित नअटेको माओवादीमा एउटै गाउँका तीन नेता बने केन्द्रीय पदाधिकारी

गत शनिबार नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी टुंगो लगायो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भयो । २१ सदस्यीय पदाधिकारीहरू मध्ये महिला एक जना मात्रै परेकी छन् । दलित समुदाय तथा सुदूरपश्चिम प्रदेशबाट भने एक जना पनि पदाधिकारीमा अटाएनन् ।


पार्टीले निकै छलफलका बीच टुंगो लगाएको पदाधिकारी भित्र  महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भए । यस्तै उप महासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् । सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।

पार्टीले टुंगो लगाएको २१ जनाको पदाधिकारीको समूहभित्र केन्द्रीय पदाधिकारीमा दलित समुदायबाट भने प्रतिनिधित्व हुन सकेको छैन । जातियता को मुद्दा बोकेर १० वर्ष जनयुद्ध गरेको पार्टीको केन्द्रीय पदाधिकारीमा एक जना पनि दलित समावेश नभएको भन्दै अहिले अध्यक्ष प्रचण्डको यो निर्णय प्रति आलोचना भइरहेको छ । त्यस्तै जनयुद्धमा ठूलो योगदान गरेको सुदूरपश्चिम सिङ्गो प्रदेशबाट पनि एक जना केन्द्रीय पदाधिकारीमा अटाएनन् । 

तर, बागलुङबाट भने एकै नगरपालिकाबाट तीन नेता केन्द्रीय पदाधिकारीको सूचीमा अटेका छन् । एउटै नगरपालिकाबाट तीन नेता केन्द्रीय पदाधिकारीमा चयन हुँदै गर्दा माओवादीको जनमत भने लज्जास्पद छ । प्रचण्डको छनोटमा पुगेका ती केन्द्रीय पदाधिकारीको वडामा स्थानीय तहको निर्वाचनमा भने माओवादीले वडा सदस्य पनि जित्न सकेको छैन । बहालवाला शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य माओवादी केन्द्रको सचिवमा चुनिएका हुन् ।

पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का बासिन्दा हुन् । केन्द्रीय पदाधिकारीमा छनोट भएका तीनै नेता पार्टीको स्थायी समितिमा सदस्य छन् । स्थानीय चुनावमा शाक्यको वडा नं. ३ मा माओवादीले वडा अध्यक्ष र सदस्यहरूको उम्मेदवार नै भेटेन । सो वडामा कांग्रेसका शनि के.सी. ९८३ भोट ल्याएर विजयी भएका थिए । नातामा काका भतिज पर्ने शर्मा र पौडेलको वडा नं. १२ मा स्वतन्त्र उम्मेदवार कोपिला मणि शर्माले १ हजार ३३८ भोट ल्याएर विजयी भएका छन् । तर, सो ठाउँमा माओवादीले भने उम्मेदवार नै भेटाएका थिएनन् ।

पौडेल र शाक्य अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षसमेत हुन् । पौडेल पहिलो पटक मन्त्री बनेका हुन् भने शर्मा २०६८ मा नै शिक्षामन्त्रीको जिम्मेवारीमा आएका थिए । नेता शर्मा अहिले राष्ट्रिय सभा सदस्यसमेत छन् । शाक्य भने २०७४ को निर्वाचनमा काठमाडौं–१० बाट पराजित भएका थिए । शाक्य वैद्यतिर लागेर काठमाडौँ १० मा प्रचण्डलाई चुनाव हराउन लागेको विगत स्मरण गर्दै कीर्तिपुरका माओवादीले उनलाई भोट हालेका थिएनन् । शर्मा विसं २०६८ शिक्षामन्त्री भएका थिए ।



११ स्थानीय तह रहेको बागलुङमा माओवादी केन्द्र एउटा मात्रै स्थानीय तह ताराखोला गाउँपालिकामा जितेको छ । ताराखोला गाउँपालिकामा पनि माओवादीले गठबन्धनको बलमा जितेको हो । बागलुङमा कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २ र एमाले र माओवादी केन्द्रले एक/एक पालिकाको नेतृत्व जितेका छन् । मतको हिसाबले माओवादी केन्द्र उक्त नगरपालिकामा चौथो स्थानमा देखिन्छ । मतमा माओवादी केन्द्रभन्दा जनमोर्चा अगाडि छ ।

वडा अध्यक्षको मतलाई आधार मान्दा बागलुङमा एमालेको ४१ हजार ८ भोट, कांग्रेसको ३७ हजार २ सय ६४ भोट, राष्ट्रिय जनमोर्चाको १२ हजार ७ सय ४५ भोट, माओवादीको १२ हजार २ सय ८० भोट र समाजवादीको २५ सय भोट रहेको छ । 



  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १६:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया