कर्णाली प्रदेशमा पहिलो कार्यकालमै बने २० जना मन्त्री
फाइल तस्बिर

कर्णाली प्रदेशको पहिलो कार्यकाल पूरा नहुँदै मन्त्री बन्नेको सङ्ख्या दुई दर्जन नजिक पुगेको छ । हालसम्म प्रदेश सरकारमा दुई जना मुख्यमन्त्रीसहित २० जना मन्त्री बनेका छन् । सबैभन्दा धेरै मन्त्री माओवादी केन्द्रबाट बनेका छन् । माओवादीबाट एक जना मुख्यमन्त्रीसहित सात जना मन्त्री बनेका छन् ।

माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री हुन् भने उनको दलबाट हालसम्म विमला केसी, सीताकुमारी नेपाली, नरेश भण्डारी, गोपाल शर्मा, छिरिङ डम्डुल लामा, विन्दमान विष्ट र गणेशप्रसाद सिंह मन्त्री भइसकेका छन् । माओवादीले गैर सांसदलाई समेत मन्त्री बनाएको छ । उसले प्रदेशसभा सदस्य नरहेका छिरिङ डम्डुल लामालाई मन्त्री बनाएको हो । उनको ६ महिने कार्यकाल सकिएको छ ।

मन्त्री बनाउनेमा एकीकृत समाजवादी दोस्रो नम्बरमा छ । एकीकृत समाजवादीबाट ६ जना मन्त्री बनेका छन् । एमालेमा छँदै प्रकाश ज्वाला र नन्दसिंह बुढा मन्त्री बनेका थिए । त्यसपछि फ्लोर क्रस गरेर बुढासहित कुर्मराज शाही र अम्मरबहादुर थापा मन्त्री बने भने एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बनिसकेपछि चन्द्रबहादुर शाही र पदम रोकायले पनि मन्त्री बन्ने अवसर पाइसकेका छन् ।

कांग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाहीसहित दिनबन्धु  श्रेष्ठ, यज्ञबहादुर बुढा क्षेत्री र हिमबहादुर शाही मन्त्री बनेका छन् । सामाजिक विकास मन्त्री बुढा क्षेत्री दोस्रो पटक मन्त्री बनेका हुन् । एमालेबाट दल रावल र खड्कबहादुर खत्री मन्त्री बनेका छन् । उनीहरू एमाले र माओवादीको संयुक्त सरकार हुँदा मन्त्री बनेका थिए । दोस्रो कार्यकालका लागि आगामी ४ मंसिरमा निर्वाचन हुँदै छ । 





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १५:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया