मुख्यमन्त्री राउतलाई राजीनामा दिन पार्टीको दबाब, एक-दुई दिनभित्रै राजीनामा आउने दाबी

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन दबाब दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री राउतमाथि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेकोले राजीनामा दिन पार्टीबाट दबाब परेको हो । 

स्रोतले भन्यो, ‘पार्टी अध्यक्ष उपेन्द्र यादवले राउतलाई केही दिनअघिदेखि नै पदबाट राजीनामा दिन दबाब दिए पनि उनी मानिरहेका थिएनन् । अन्ततः उनी राजी भएका छन् । सम्भवतः एक÷दुई दिनभित्रै राजीनामा दिन्छन् ।’

पार्टीले अब अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई मुख्यमन्त्री बनाउने स्रोतको दाबी छ ।

मधेस प्रदेशमा साइकल खरिदमा भएको अनियमिततासम्बन्धी मुद्दा दर्ता भएसँगै मुख्यमन्त्री राउत नैतिक संकटमा परेका थिए । साइकल खरिद प्रकरणमा उनी पनि जिम्मेवार रहेको भन्दै आलोचना भइरहेको छ ।

यस सम्बन्धमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आफूलाई मुख्यमन्त्रीको राजीनामाको सम्बन्धमा कुनै जानकारी नरहेको बताए । उनले पार्टीको माथिल्लो निकायले यस सम्बन्धमा औपचारिक जानकारी नगराएको बताए । 



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रदेश सरकारले पहिलो चरणमा १० र अर्को चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई छोडेर ब्राण्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको आरोपपत्रमा उल्लेख छ ।



पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लालबाबु राउत २ फागुन २०७४ मा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १९:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया