मिटरब्याज लिएर जनता ठग्नेलाई कारबाही गर्छौं : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँणले मिटरब्याजीलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए । मन्त्री खाँणले वर्तमान सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटरब्याजीलाई कानुनी कारबाहीको दायराभित्र ल्याउने र मिटरब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गरे । 

मिटरब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नका लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताउँदै मन्त्री खाँणले मिटर ब्याजबाट ठगिएका आमजनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताए । 

मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गतेभन्दा पछाडि अनुमान गरेभन्दा धेरै रहेको जानकारी दिँदै उनले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी परेको बताए । मन्त्री खाँणले प्रदेश १ मा ९२ वटा, मधेस प्रदेशमा १,३३०, वागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको उनले बताए । 

गृहमन्त्री खाँणले अहिलेसम्म परेका तथा अब पर्ने उजुरीउपर मन्त्रालय तत्काल छानबिन र अनुसन्धान गरेर कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाए । 
 





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार २१:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया