जडिबुटी कम्पनीका महिला कर्मचारीमाथि यौनहिंसा : आरोपित चापागाईंलाई कार्यालय प्रमुखकै संरक्षण

काठमाडौंको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सञ्चो शाखाका सुपरभाइजरमाथि महिला कामदारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । सुपरभाइजर हरि चापागाईंमाथि कम्पनी कामदारलाई लामो समयदेखि पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । 

कार्यालय समयमा चिमोट्ने, कपडा तान्ने, घुरेर हेर्ने, फोन गरेर हैरानी दिने, भेट्न आउँछु भनेर हैरानी दिएको महिला कामदार बताउँछन् । हुन त जडीबुटी कम्पनी लिमिटेडकी कार्यालय प्रमुखमा महिला नै महाप्रबन्धक छिन् । संगिता यादव जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी महाप्रबन्धक हुन् । तर, महिला कार्यालय प्रमुख भएकै कार्यालयमा महिला कामदार नै सुरक्षित छैनन् । 

आफूमाथि सुपरभाइजर चापागाईंले यौन दुव्र्यवहार गरेको भनेर ती महिला कामदारले गत १४ वैशाखमा प्रबन्धक यादवसामु निवेदन दिएका थिए । तर, यादवले न महिला कामदारको निवेदनमाथि सुनुवाइ गरिन् न त आरोपित सुपरभाइजर चापागाईंमाथि छानबिन । बरु, अहिले निवेदन दिने महिला कामदारलाई नै उल्टै वैमनस्यता साँधेर कारबाही गरेको महिला कामदार बताउँछन् । 

आइतबार साँझ ५ बजे कार्यालय बन्द भएपछि यौन हिंसाका आरोपित चापागाईंलाई महाप्रबन्धक यादवले आफ्नै सरकारी गाडीको पहिलो सिटमा राखेर सवार गरिन् ।

कार्यालयको गेट बाहिर सुपरभाइजर चापागाईंबाट यौन दुव्र्यवहार गरिएको भनिएका महिला कामदार उभिएका थिए । महाप्रबन्धककै सरकारी गाडीमा आफूलाई यौन हिंसा गर्ने व्यक्ति सवार भएको देखेपछि ती महिला कामदार भन्दै थिए, ‘उहाँ सरलाई त महारानीकै संरक्षण छ अनि कहाँबाट हामीले न्याय पाउँथ्यौँ?’



यौन हिंसाका आरोपित चापागाईंलाई कार्यालय प्रमुख यादवले संरक्षण गरेको हुनाले आफ्नो निवेदनउपर कुनै कारबाही नभएको एक महिला कामदारले बताइन् । ‘हामीले वैशाखमा नै यौन हिंसा भएको उजुरी दिएका थियौँ । तर, उजुरीउपर कुनै सुनुवाइ भएन । हामीले उजुरी गरेको भन्ने सुपरभाइजर चापागाईंले थाहा पाएपछि थप दुव्र्यवहार गर्ने गरेका छन् । तिमीहरूले उजुरी गरेको होइन, खै मलाई कारबाही भएको म जे पनि गर्न सक्छु भन्दै उल्टै हप्काउने गरेका छन् ।’ 

सञ्चो उत्पादन गर्ने कम्पनीमा ३० जनाभन्दा बढी महिला काम गर्छन् । चापागाईंले आफूहरूमध्ये धेरैलाई यौन दुर्व्यवहार गरेको पीडित महिलाले बताएका छन् । पटक–पटक यौन दुर्व्यवहार भएपछि कर्मचारीले प्रशासनलाई खबर नगरेका होइनन् । 



प्रशासनले आरोपितलाई कारबाही गर्नुको साटो उल्टै आफूहरूमाथि नै कारबाही गर्न लागेको पीडितले बताएका छन् । गत पुसमा एक महिला कर्मचारीलाई सञ्चो आवश्यक परेको थियो । सञ्चो चाहिएपछि माग्न भन्दै ती महिला सुपरभाइजर चापागाईंकोमा पुगिन् ।

उनले भनिन्, ‘सर मलाई दुई/चार वटा सञ्चो चाहियो ।’ चापागाईंले उनलाई आफ्नो कार्यकक्षमा लगे । भित्र पसेपछि चापागाईंले उनको ढाडमा छोएर कपडा तानिदिए । उनले त्यो दिन मात्रै नभई पहिला पनि नराम्रो किसिमले छुने गरेको उनी बताउँछिन् । त्यो दिन भने असह्य नै भएको उनले बताइन् ।

के गर्न खोजेको भन्दै उनले चापागाईंलाई हप्काइन् । आफूमाथि दुर्व्यवहार भएको भन्दै उनले शाखा अधिकृत उषा रिजालकहाँ गएर भनिन्, ‘उहाँ मान्छे मलाई ठीक लागेन । उहाँले नराम्रो काम गर्नुभएको छ । उहाँसँग काम गर्न मलाई गाह्रो भयो ।’

रिजालले घटनाबारे कारबाहीको प्रक्रिया अगाडि बढाइनन् । बरु उल्टै पीडित महिला कर्मचारीलाई नै थर्काइन् । ‘तँ हिजोआज बढी हुन थालेकी छस्, काम गर्न मन छ भने गर नानी । होइन भने अरूलाई पनि बिगार्ने काम नगर,’ रिजालको भनाइ उद्धृत गर्दै महिला कामदारले भनिन् ।

उनले चापागाईंले आफूमाथि मात्रै यौन दुर्व्यवहार गरेको होला भन्ने सोचेकी थिइन् । उनले यसबारे आफ्ना सहकर्मीलाई सुनाइन् ।

चापागाईंले आफूहरूलाई पनि पटक–पटक दुर्व्यवहार गरेको अरू महिलाहरूले बताए । ‘सबैजनाले आफूहरूलाई पनि पटक–पटक दुर्व्यवहार गर्ने गरेको भनेर मलाई  सुनाउनुभयो,’ उनले भनिन्, ‘एक जना दिदी त मेरो घर पनि बिगारिदिनुभयो भनेर रुनुभयो । एक्लै भेटे चिमोट्ने, शरीरका विभिन्न भागमा हात लग्ने मात्र होइन राति फोन गर्ने पनि गर्दा रहेछन् ।’

यसरी पीडितले शाखा अधिकृतलाई गएर सुनाएपछि उल्टै आफूमाथि कारबाही गरेको पीडितको गुनासो छ । १९ पुसमा कम्पनीमा एउटा कार्यक्रम थियो । त्यो दिन ती पीडित पनि हाजिर भएकी थिइन् । आफूले यौन दुर्व्यवहारबारे बोलेपछि कारबाही स्वरूप त्यस दिनको हाजिर नै काटेर तलब पठाएको उनले गुनासो गरिन् ।

‘मैले दिनभर काम गरेँ । मैले नै पस्केर दिएको खाजा शाखा प्रमुखले खानुभयो । तर त्यो दिनको तलब काटेर पठाउनुभयो,’ उनले भनिन् । उनीमाथि कारबाहीको शिलशिला यतिमै रोकिएन । उनी त्यहाँ सञ्चो बनाउँथिन् । माघमा आएर उनलाई गेटमा स्यानिटाइजर लगाउन दिने काममा राखियो । 

यस्तै, उनी साढे ९ मै आइपुग्नु पर्ने र अरू गइसकेपछि मात्रै जानुपर्ने भन्ने शर्त पनि राखियो । त्यसरी काम गर्ने भए गर्नू नत्र भने निस्किन भन्दै प्रशासनले उनलाई धम्क्यायो । त्यसपछि उनी दुई महिना गेटमा बसेर काम गर्न बाध्य भइन् । अर्की पीडित महिलाले सञ्चो बनाउने काम गरेको सात वर्ष पूरा भइसक्यो । उनी आउँदा नै हरि चापागाईं सुपरभाइजर थिए ।

उनलाई चापागाईंले घरमै हुँदा पनि फोन गर्ने गरेको बताइन् । ‘घरमा हुँदा पनि फोन गर्नुहुन्थ्यो । म आउँछु चिया पकाएर खुवाउनु भनेर भन्नुहुन्थ्यो । कामै नहुँदा पनि उहाँले फोन गरेर दिक्क पार्नुहुन्थ्यो,’ उनले भनिन्, ‘घरमा के भन्नुहोला भन्ने मलाई तनाव भयो । अनि मैले त्यही बेला सर मलाई यसरी काम नपरी–नपरी फोन नगर्नुस् । काम परे त अफिसमा आइहाल्छु पनि भनेँ ।’

उनको दुर्व्यवहार यतिमा मात्रै सीमित थिएन । कहिले उनको ढाडमा धाप मार्थे त कहिले औँलाले घोच्थे । ‘काली कोप्ची भन्ने, धाप मार्ने, औँलाले घोच्ने, कुनै लुगा लगाए सुहाउँदो रहेछ भनेर अप्ठेरो हुनेगरी भन्ने गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘प्रत्येक पटक मैले प्रतिकार पनि गरेँ । वाहियात कुराहरू नगर्नुस् भनेर पनि भनेँ । तर, मौकामा उहाँले दुर्व्यवहार गर्न रोक्नुभएन ।’

यस्ता कुरा उनले आफू र आफ्ना साथीहरूबीच मात्रै सीमित राखिन् । अर्की पीडितले पनि त्यहाँ काम गर्न थालेको ६ वर्ष भयो । उनीमाथि भने चापागाईंले काम गर्न गएको पहिलो दिनमै दुर्व्यवहार गरेको बताइन् । उनले आफूलाई धाप मारेको बताइन् ।

‘उहाँले पहिलो दिनमै धाप मार्नुभयो । अनि मैले अलि पर बसेर कुरा गरे पनि म सुन्छु । एकजना साथी र मैले परै बस्नुस् धाप मार्न आउनुपर्दैन भन्यौं,’ उनले सुनाइन्, ‘त्यो दिन हप्काएपछि मलाई चाहिँ उहाँले त्यस्तो गर्ने आँट गर्नुभएन । म पनि जोगिएरै हिँड्न थालेँ । अरूलाई एकदमै टर्चर दिनुभएको छ ।’

उनका अनुसार कतिपय पीडितहरूलाई दिनहुँ फोन गरी हैरान पारेको भन्दै सिमसमेत फ्याँक्नुपर्ने अवस्था आएको थियो । ‘कतिपयको घरबार नै बिगारिदिए । उनकै फोनका कारण कतिले सिम भाँचेर फ्याँकेका घटना पनि छन् । एक जना बहिनीको त श्रीमानसँग सम्बन्ध बिग्रेर छुटिएर बस्नुभएको छ,’ उनले सुनाइन् ।

चौथी पीडित महिलाले पनि आफूलाई दुर्व्यवहार गरेको बताइन् । उनलाई पनि आफ्नो घरमा चिया खाना आउँछु भन्दै पटक–पटक फोन गर्ने गरेको सुनाइन् । ‘चिया खान आउँछु भनेर फोन गर्ने गर्नुहुन्छ । घरमा मेरा श्रीमान्, बालबच्चा हुन्छन् । कतै फोन छाड्यो भने पनि बाबुनानीले हरि सरको फोन आयो भन्छन् । केही गरी फोन उठाइहाले भने पनि आउँछु भनेपछि फेरि जिद्दी गर्नुहुन्छ,’ उनले सुनाइन्, ‘अफिसभित्रै काम गर्दा पनि घुरेर हेर्नुहुन्छ । आइहाल्ने पो हो कि भनेर डर लाग्ने । काम गर्दा चिमोट्ने देख्यो भने पनि कसैले भन्ला भन्ने पनि नसोच्ने ।’

उनले थपिन्, ‘मलाई लकडाउनको बेलादेखि यस्तो हुन थालेको हो ।’ त्यहाँका पीडित कर्मचारीहरूले आफूहरूमा जे जस्तो कुरा लिएर शाखा अधिकृत कहाँ पुगे पनि महाप्रबन्धक आएपछि भन्दै टार्दै गइन् । चैत अन्तिमतिर कम्पनीकी महाप्रबन्धक संगीता यादव आइन् ।

१४ वैशाखमा पीडितलाई यादव आफैंले नै बोलाइन् । उनले एक–एक जनालाई कोठामा बोलाएर भनिन्, ‘तँलाई कुन हाकिमबाट दुर्व्यवहार भयो । त्यो लेख । उसै महिला हिंसा भयो भन्ने? म छानबिन गर्न दुईजना वकिललाई बोलाएर ल्याउँछु । वकिललाई छानबिन गर्न लगाउँछु । हो रहेछ भने ठीकै छ, होइन रहेछ भने तिमीहरूले जागिर छाड्नुपर्छ कि मैले जहाँ सरुवा गर्छु त्यहीँ जानुपर्छ ।’

पीडितहरूले आफूमाथि भएको दुर्व्यवहारबारे निवेदन लेखेर दिए । महाप्रबन्धक यादवले सात जनालाई त्यसैगरी लगेर सोधपुछ गरेकी थिइन् । त्यसपछि भने आफूहरूलाई एउटा कोठामा थुनेर राखेको एक पीडितले सुनाइन् ।

‘त्यहाँबाट बाहिर आएपछि हामीलाई अरू साथीसँग भेट्न दिइएन । एउटा कोठामा राखियो । बाहिर गार्ड बसेर हामीलाई नजरबन्दमा राख्यो । हामी त्यसदिन २ देखि ५ बजेसम्म त्यही बस्यौँ,’ उनले भनिन्, ‘५ बजेपछि एक जना हाकिम आएर ग्रुप लिडरलाई हाम्रो नाम टिपाउन लगाउनुभयो । हाम्रो सुनुवाइ भोलि १० बजे हुन्छ भन्नुभयो ।’

१५ वैशाखमा पीडितहरू हाजिर भए । ११ बजेपछि भने गार्डदेखि सबैलाई बोलाएर मिटिङ राखे । शाखा प्रमुखले त्यहाँ काम नगरेको भन्दै कर्मचारीहरूलाई सुनाउँदै थिइन् । तर, पीडितहरूले सुनुवाइ हुनेबारे सोधे । सुनुवाइबारे प्रश्न सोध्न बित्तिकै लेखाका एक कर्मचारी उनीहरूमाथि झम्टिए । त्यसदिन दुईजना प्रहरी पनि त्यहाँ आइपुगेका थिए । तनावको अवस्था सिर्जना नभएपछि उनीहरू फर्किए ।

कम्पनीको प्रशासनबाट केही नलागेपछि पीडितहरूले वैशाख २५ गते हुलाकमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिए । उजुरी दर्ता भयो÷भएन भन्नेबारे उनीहरू अनभिज्ञ छन् ।  कुनै कारबाही प्रक्रिया अघि नबढेकाले दर्ता नै भएन कि भन्ने उनीहरूलाई लागेको छ । 

यसरी पटक–पटक निवेदन हालेपछि प्रशासनले सिसिटिभी पनि जडान गर्‍यो । प्रहरीमा जाहेरी दिनेबारे सोचे पनि कम्पनी प्रशासन आफैंले नै प्रहरी बोलाएपछि भने उनीहरू डराएका छन् । पछिल्लोपटक २२ साउनमा पनि उनीहरूले प्रशासनमै उजुरी गरे । यसमा २१ जना महिला कर्मचारीले हस्ताक्षर गरी महाप्रबन्धक समक्ष निवेदन दिएका छन् ।

प्रशासनले अहिलेसम्म चापागाईंलाई कुनै कारबाही नगरेको पीडितहरूको गुनासो छ । महाप्रबन्धक संगिता यादवले भने यस घटनाबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरिन् । प्रत्यक्ष प्रतिक्रिया लिन कोटेश्वरस्थित जडिबुटी कम्पनीको कार्यालयमा पुग्दा यादवकी स्वकीय सचिवले ‘उहाँको समय नभएको’ प्रतिक्रिया दिइन् ।

एक घण्टा कुर्दा कार्यकक्षको ढोकाबाट चियाउँदै महाप्रबन्धक यादवले  ‘मलाई भेट्न समय लिएर आउनुस्, त्यो घटनाबारे छानबिन गर्दैछौँ’ भन्दै पुनः ढोका बन्द गरिन् । 

  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार १३:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया