चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग
फरकधार / ७ भदौ, २०७९

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । 



महासंघका महासचिव डेकनाथ गौतमले मंगलबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन् ।

‘भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन पटक रकम घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 



महासंघका अध्यक्ष विजयबहादुर स्वारले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत नेपालमा नघट्नु दुःखद् कुरा भएको बताए । 



उनले सार्वजनिक सवारी साधनको कर, बैंकको ब्याज, रुट इजाजत दस्तुर, जाँचपास बिमा, सवारीसाधनको इञ्जिनको मूल्य अत्यधिक बढ्दा मारमा परेका यातायात व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा थप समस्या परेको उल्लेख गरे । 

महासंघले महँगो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गरी सस्तोमा सेवा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको र व्यवसायी व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको बताएको छ । प्रदेश सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन समेत नगर्दा समस्या परेको महासंघको भनाइ छ ।

  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार १७:४०:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया