सत्तारूढ गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, भोलि फेरि बस्ने
फाइल तस्वीर

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारूढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । कार्यदल र शीर्ष नेताहरूबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिनासहमति टुंगिएको हो । 

कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोलि अपराह्न पाँच बजे बस्ने गरी सकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । 

उनले २०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाई समेत आधार बनाएर सिट बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको र ९ भदौ बिहीबारभित्र त्यसलाई टुंगोमा पुर्‍याउने गरी गठबन्धनमा आवद्ध दलका नेताबीच छलफल भइरहेको बताए । 

नेता पुरीले भने, ‘सिट बाँडफाँडको आधारका विषयमा छलफल भइरहेको छ । निर्वाचनको प्रत्येक्षतर्फको एउटा आधार छ । समानुपातिकको अर्को आधार छ । स्थानीय तह निर्वाचनलाई पनि आधार बनाउने कुरा गरिराखेका छौं । विभिन्न आधारको विषयमा छलफल गरिराखेका छौं । छलफल सकारात्मक रूपमा अगाडि बढिराखेको छ । भोलि पनि बैठक हुन्छ ।’

सत्तारुढ दलहरूले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल बनाएका छन् । तर, कार्यदलका संयोजक सिटौला बिरामी भएका कारण आजको बैठकमा उपस्थित हुन सकेनन् ।





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार १८:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया