मधेस प्रदेश : अर्थमन्त्री साहले सप्तरी पठाएको २० करोडबारे छानबिन गर्न बनेको समितिलाई मन्त्रालयको असहयोग
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीका लागि आर्थिक वर्षको अन्तिम समयमा निकासा गरेको २० करोड रुपैयाँमा संसदीय विशेष समितिले छानबिन गरिरहेको छ । 

अर्थमन्त्री साहले गत आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा अनाधिकृत रूपमा बजेट पठाएको भन्दै त्यसमाथि छानबिन गर्न सभामुख सरोजकुमार यादवले गत २० असारमा उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन गरेका थिए । 

प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानबिनका लागि समिति गठन गर्न माग गरेपछि सभामुख यादवले उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेका थिए । 

लोसपा नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आवाज प्रदेशसभामा उठाएपछि सभामुख यादवले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति बनाए । 

समितिको सदस्यमा प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका छन् ।

समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रमलगायतका विषयमा अनुगमन तथा छानबिनका गरी १५ दिनमा प्रदेशसभामा प्रतिवेदन पेस गर्ने समय दिइएको थियो । तर, समिति गठन भएको महिना दिन बितिसक्दासमेत अहिलेसम्म छानबिन पूरा हुन सकेको छैन । 



गठित विशेष समितिलाई अहिलेसम्म अर्थ मन्त्रालयले आवश्यक कागजात उपलब्ध नगराएकोले छानबिन प्रभावित भएको स्रोतको भनाइ छ । विशेष समितिले योजनासँग सम्बन्धित कागजातहरू माग गर्दासमेत अर्थमन्त्री साहको निर्देशनमा मन्त्रालयले उपलब्ध गराउन आलटाल गरिरहेको छ । 

उपसभामुख देवले मन्त्रीले सम्बन्धित योजनाहरूको सम्पूर्ण कागजात दिन आलटाल गरिरहेको बताइन् । उनले प्राप्त केही कागजातहरूलाई अध्ययन गर्न सदस्यहरूलाई उपलब्ध गराएको र केही समयपछि समितिले प्रतिवेदन पेश गर्ने जानकारी दिइन । 



समितिका सदस्य रानी शर्मा तिवारीले सरकार र मन्त्रालय संसदीय समितिलाई समेत छलेर कार्य गरिरहेको आरोप लगाएकी छन् । उनले समितिलाई सहयोग गर्ने काम सरकारको रहे पनि सरकारले नै उल्टै समितिलाई आवश्यक कागजात उपलब्ध गराउन आलटाल गरिरहेको बताइन् ।  

प्रदेशको सार्वजनिक लेखा समितिका सभापति नरेशकुमार यादवले पनि छानबिनका क्रममा त्यसमा पनि कतै न कतै अनियमितता भएको देखिएको बताए । 

उनले भने, ‘हालसम्म समितिको छानबिन सम्पन्न भएको छैन । सार्वजनिक लेखा समितिको हैसियतले म सो बारेमा आफ्नो स्तरबाट छानबिन गरिरहेको छु ।’

अर्थमन्त्री साहले भौतिक पूर्वाधार विकास मन्त्रालयको सहमतिबिना सप्तरीको सिँचाइ डिभिजन कार्यालयमा २० करोड रुपैयाँ बजेट पठाएर अनियमितता गरेको आरोप छ ।

प्रदेशको ८ जिल्लामध्ये सप्तरीमा मात्रै असार ३ गते थप २० करोड रुपैयाँ पठाइएको थियो । यी रकम योजना स्वीकृत नै नगरी प्रक्रिया विपरीत गएको बताइएको छ ।

  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार २०:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया