प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुनसक्ने भन्दै आशंका व्यक्त गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको भेटमा सहभागि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उपाध्यक्ष पौडेलले ओलीले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमाले कडा रुपमा प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको बताए ।
‘आगामी निर्वाचनमा पनि सत्ताको दुरुपयोग हुनसक्ने त्यो आशंका गर्ने आधार छन् । त्यसले गर्दा हामीले मुख्य रूपले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित निर्वाचन सम्पन्न हुनुपर्छ । र यो निर्वाचनमा दलहरूका बीचमा, आस्थाका बीचमा स्वच्छ र स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । यस प्रश्नमा कहाँनिर पनि अन्यथा भयो भने नेकपा(एमाले) कडा प्रतिवादमा उत्रिन्छ लोकतन्त्रका रक्षाका निम्ति, स्वतन्त्र निर्वाचनको रक्षाका निम्ति एमाले कडा प्रतिवादमा उत्रिन्छ भनेर चेतावनी गरेका छौँ’ उनले भने ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।
भेटवार्ताका क्रममा एमालेले सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पुनः राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
राष्ट्रपतिले संविधानसम्मत रुपले पुनर्विचारका लागि फिर्ता पठाएको भएपनि पुनः प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
उनले भने – ‘राष्ट्रपतिले संविधानसम्मत ढंगले जायर गर्नुभएको सरोकारलाई पनि यसले उपेक्षा गरेको छ र राष्ट्रपतिप्रति अनादर गरेको छ । यो अत्यन्त गम्भीर, घातक र चिन्ताजनक विषय हो भनेर यो कुरा राख्यौँ ।’
त्यस्तै सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रति पनि एमालेले विरोध जनाएको छ । सरकारले द्वन्द्वकालमा अन्यायमा परेकालाई न्याय नदिने गरी विधेयक ल्याएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ ।
गठबन्धन सरकारले अन्यायलाई अनुमोदन गर्न खोजेको एमाले उपाध्यक्ष पौडेलको भनाई छ । प्रधानमन्त्री देउवासमक्ष पीडितलाई न्याय दिनका लागि कुरा राखिएको उनले जानकारी दिए ।
उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र टीआरसीसम्बन्धी विधेयकका बारेमा जुन खालको छलफल चलिरहेको छ । जसरी सरकार अगाडी बढ्न खोजिरहेको छ । हामीलाई गम्भीर आशंका छ ।’
त्यसैगरी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा एमाले नेताहरूले देशमा अनियमिता, भ्रष्टाचार र महँगी बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेका छन् ।
भेटवार्तामा उठाइएको कुरालाई सरकारले सम्बोधन गर्न नसकेमा एमाले सशक्त प्रतिवादमा उत्रिने एमाले उपाध्यक्ष पौडेलले बताए ।
प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको उपाध्यक्ष पौडेलले जानकारी दिए ।
उनले आफूहरू नतिजाको पर्खाइमा रहेको उल्लेख गरे । उपाध्यक्ष पौडेलले सरकारको एक वर्ष असफलताको वर्ष भएको र राष्ट्रको एक वर्षको समय बर्बाद भएको टिप्पणी पनि गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।