किरण चेम्जोङ​ भन्छन् - अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबललाई बिगारे

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् ।

बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे । 

१४ वर्षसम्म निरुन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेल्नुभएका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए । जसयताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडी वञ्चित रहेका थिए । 

गोलकिपर चेम्जोङले अन्य खेलाडीभन्दा आफूले टिमलाई विचलित बनाउने कुरा नगर्दासमेत टिमबाट आफू निष्कासित हुनुपरेको बताए । बिनाकारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे । 

चेम्जोङले अलमुताइरीले आफूलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताए ।

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रीपूर्ण खेल खेल्न लागेको छ । सोही मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन् । 



लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोलीभन्दा बाहिर रहँदा आराम भएको गोलकिपर चेम्जोङले बताए । टोलीमा फर्किएपछि चेम्जोङले कुनै पनि खेलाडीले फुटबल व्यक्तिका लागि भन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने बताए ।

आगामी ११ असोजमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता प्रदीप हुमागाईले जनाए । जसअनुसार अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ । 



एक सातको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ । प्रमुख प्रशिक्षक हुमागाईंले छिट्टै टोलीलाई घटाउने भने पनि एक साता बितिसक्दा टोलीको संख्या घटेको छैन । फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताए । 

राईले फुटबल बनोट अनुसार सुरुवाती चरणमा गरिने अभ्यास बितेको एक सातामा गरेको बताए । राष्ट्रिय टोलीमा दिएको जिम्मेवारी आफ्नो लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईंसँग काम गर्न सहज भएको प्रतिक्रिया दिए ।

पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन् । 

अभ्यासमा सहभागी भएका १० खेलाडी मध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताए । फेरि पनि मैदान फर्किएरसँगै एउटै टिममा अभ्यास गर्न पाउँदा निकै खुशी लागेको र नयाँ सुरुवातका साथ अगाडि बढेको बताए ।

प्रशिक्षक हुमागाईंले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन् । फुटबल प्रतियोगिता नभएको अवस्थामा आयोजन हुन लागेको मैत्रीपूर्ण खेलका लागि केही नयाँ अनुहार पनि समावेश भएका छन् । केही अनुभवी खेलाडी र केही नयाँ खेलाडीलाई समावेश गर्दै प्रशिक्षक हुमागाईं नेपाललाई सुखद् नतिजा दिलाउने लक्ष्यमा रहेका छन् । 

  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १८:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया