बढ्यो इपिएस कोरियाको कोटा, उत्पादन क्षेत्रतर्फ थप आठ हजारलाई अवसर

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ ।

उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको संख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट तीन हजार एक सय ३० र दोस्रो चरणको परीक्षाबाट तीन हजार सात सय ८३ गरी कूल छ हजार नौ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो । 

उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको संख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट छ हजार सात सय ५२ र दोस्रो चरणबाट आठ हजार एक सय ६१ गरी कूल १४ हजार नौ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार नौ सय र कृषितर्फ नौ हजारले फाराम भरेका थिए ।

उत्पादनतर्फको पहिलो चरणको परीक्षा गत साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने इपिएस कोरिया शाखाले जनाएको छ । 

शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षामा उत्तीर्ण हुनेको संख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको संख्या पनि वृद्धि हुने बताए । ‘यो नेपाली युवाका लागि अवसर हो,’ उनले भने, ‘कोरिया सरकारले नेपालीलाई रुचाएको देखिएको छ ।’

सन् २००८ देखि इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् । इपिएसबाट ७३ हजार नेपाली कोरिया पुगिसकेका छन् । 



उनीहरुले चार वर्ष १० महिना कोरियामा काम गर्न पाउँछन् । हाल कोरियामा ३३ हजार इपिएस श्रमिक छन् । दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ । 

इपिएसबाट श्रमिक लैजाने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ । सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन् ।  



  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार २२:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया