एसिया कप गुमाउने पाँच स्टार बलर

एसिया कप टी–२० क्रिकेट प्रतियोगिता भोलिबाट यूएईमा सुरु हुँदैछ । यसपालि पनि प्रतियोगितामा भारत र पाकिस्तानलाई उपाधि दावेदारको रूपमा हेरिएको छ ।  
एसिया कपमा पाँच टेस्ट तथा एक एसोसिएट गरी ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ साविक विजेता भारत, पाकिस्तान र हङकङ तथा समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । भोलि हुने उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् । 

एसियाका सर्वाधिक बलिया टोली भारत, पाकिस्तान र श्रीलंकाले आफ्ना प्रमुख बलरबिना नै एसिया कप खेल्दैछन् । 

एसिया कप गुमाउने पाँच स्टार बलर  

५. हसन अली (पाकिस्तान)

पाकिस्तानका तीव्र गतिका बलर हसन अली चोट नभएर खराब लयका कारण टोलीबाट बाहिरिएका हुन् । पछिल्लो समय लगातार खराब प्रदर्शन गरेपछि पाकिस्तानले हसनलाई टोलीबाट बाहिर राख्दै एसिया कप खेल्ने टोली घोषणा गरेको थियो ।



एसिया कपका लागि पाकिस्तानी टोलीमा तीव्र गतिका बलरका रूपमामा नसीम शाह, मोहम्मद वसीम जुनियर, हरिस रौफ, मोहम्मद हसनैन र शहनावाज दहानी छन् ।

अलीले पाकिस्तानका लागि ४९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ६० विकेट लिएका छन् । २०१७ को च्याम्पियन्स ट्रफीमा भारतलाई हराउँदै पाकिस्तानलाई उपाधि दिलाउन अलीको प्रदर्शन महत्वपूर्ण थियो । 



४. हर्षल पटेल (भारत)

भारतीय तीव्र गतिका बलर हर्षल पटेलले चोटका कारण एसिया कप गुमाउने भएका हुन् । उनले छातीको चोटका कारण एसिया कप नखेल्ने पक्का भएको हो ।  
पटेलले टी–२० विश्वकप गुमाउने पनि सम्भावना छ । उनले पछिल्लो समय डेथ ओभरमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । हर्षलले  भारतकबा लागि १७ टी–२० अन्तर्राष्ट्रियमा २३ विकेट लिएका छन् । 

३. दुश्मन्था चामिरा (श्रीलंका)

दुश्मन्था चामिरा श्रीलंकाका प्रमुख तीव्र गतिका बलर हुन् । चामिराले श्रीलंकाका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले घुँडाको चोटका कारण एसिया कप गुमाउने छन् । 

चामिराले नयाँ बलका साथ पावर प्लेमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले श्रीलंकाका लागि ४० टी–२० अन्तर्राष्ट्रिय खेलमा ४८ विकेट लिएका छन् । 
उनी तल्लोक्रममा राम्रो ब्याटिङ क्षमता पनि राख्छन् । चामिरा नहुँदा श्रीलंकाको तीव्र गतिको बलिङ आक्रमण केही कमजोर बन्ने निश्चित छ ।  

२. शाहीन शाह अफ्रिदी (पाकिस्तान)

विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले पनि चोटका कारण एसिया कप गुमाउने भएका हुन् । उपाधिको दाबेदार पाकिस्तानलाई बायाँ हाते अफ्रिदी नहुँदा ठूलो धक्का लागेको छ । 

स्विङका लागि माहिर अफ्रिदी दायाँ घुँडाको लिगामेन्टमा लागेको चोटका कारण टोलीबाट बाहिरिनु परेको हो । विशेषगरी भारतीय ब्याटरको बायाँ हाते बलर कमजोरीको रुपमा रहँदै आएको छ । 

गत वर्ष भारतविरुद्ध टी–२० विश्वकपमा पनि अफ्रिदीले शानदार प्रदर्शन गरेका थिए । उनले पाकिस्तानका ४० टी–२० अन्तर्राष्ट्रिय खेलमा ४७ विकेट लिएका छन् ।

१. जसप्रीत बुमराह (भारत) 

वर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट बलर जसप्रीत बुमराहले पनि चोटकै कारण एसिया कप गुमाउने छन् । योर्करका लागि माहिर बुमराह नहुँदा भारतको डेथ ओभर र तीव्र गतिको बलिङ आक्रमण कमजोर बनेको छ ।

उनले ढाडको चोटका कारण एसिया कप गुमाउने भएका हुन् । एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका बुमराहले भारतका लागि ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ६९ विकेट लिएका छन् ।

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १२:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया