कम्युनिष्टका कारण संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सकिएन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले यस अघिका निर्वाचन पनि नेपाली कांग्रेसले इमान्दारीता पूर्ण गरेको र अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँधलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए ।

‘चुनावी माहोलमा देश होमिसकेको छ । कांग्रेसले नै अहिलेको सरकारको नेतृत्व गरिरहेकोले निर्वाचन अहिलेसम्म पनि निर्वाचन गराउने काममा इमान्दारीता निभाएको छ । अहिले पनि निर्वाचन निष्पक्ष हुनुपर्‍यो । धाँधलीरहित गराउनको लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ । दलहरूले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्छ,’ नेता सिंहले भने ।

उनले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । नेता सिंहले आगामी दिनमा नेपाली कांग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने पनि दाबी गरे ।

‘नयाँ सरकार आएपछि हामीले गर्ने भनेको संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा नेपाली कांग्रेसले विशेष ध्यान दिनुपर्छ । आगामी दिनमा नेपाली कांग्रेसले आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा पनि पार्टी अघि बढ्छ,’ सिंहले भने ।

उनले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भए पनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासीन रहँदा आवश्यक कानुन निर्माण नगरेको आरोप पनि लगाए । सिंहले नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानुन निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको विरोध गरिरहेको बताए ।  



उनले कम्युनिष्ट पार्टीका सरकारले संघीय कानुन समयमा नबनाइँदिँदा संघीयतालाई संविधानको भावना र मर्मअनरूप जनताले महसुस गर्ने गरेर अघि बढाउन नसकेको बताए ।  

‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिष्टहरूले पाएको कारण कम्युनिष्टहरूले नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानुन निर्माण गर्न सकेनन् । संघीय कानुन, समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरूप आम नेपाली जनताले महशुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई/दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेको छौँ,’ नेता सिंहले भने ।



राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभइ मतदानको अधिकार दिलाउन पनि मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको स्मरण पनि गरे । 

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १३:१२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया