डोरमणि उम्मेदवार नबन्ने भएपछि के छ बर्तौलाले टिकट पाउने सम्भावना ?

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सन्जाल फेसबुकमा आफूले अब चुनाव नलड्ने घोषणा गरेका छन् । उनले अहिलेको समाजले युवा पुस्तालाई खोजिरहेको यथार्थलाई कसैले भुल्न नहुने पनि बताएका छन् । 

योसँगै मकवानपुरमा अब एमालेबाट प्रतिनिधिसभाका लागि चुनावमा को उम्मेदवार होला भन्ने प्रश्न उब्जिएको छ । यसअघि मकवानपुर १ ‘क’बाट निर्वाचित पौडेल बाग्मती प्रदेशका पहिलो मुख्यमन्त्री भएका थिए ।

पौडेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘राजनीति लहड, रहर र दबाब मात्रैले पक्कै चल्दैन । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडिहरुका आधारमा उम्मेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ ।’ 

उनले आफूले निर्वाचनमा उम्मेदवारी दिने सम्भावना नरहे पनि अब आफूले युवाहरुलाई निर्वाचनमा जिताउन अगाडि बढ्ने बताएका छन् र

यसअघि पौैडेल मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार हुने चर्चा चलेको थियो । तर, अब उनले उम्मेदवारी नदिने घोषणा गरेपछि को उम्मेदवार बन्ला भन्ने चर्चा सुरु भइसकेको छ । 

तीमध्ये अहिले चर्चामा छ, दुई युवाको नाम– महेश बर्तौला र रामेश्वर राना ।



एमालेका बागमती प्रदेश कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौला र एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने चर्चा अब चल्न थालेको हो । 

मकवानपुर क्षेत्र नम्बर २ का लागि राना पूराना पूस्ताका लागि परिचित अनुहार हुन् भने बर्तौलाले युवा पुस्तालाई आफूनिकट बनाएर अगाडि बढेका छन् ।



२०७९ को स्थानीय तहको निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष र इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा मात्र एमालेले जितेको छ । जिल्लाको १ सय २ मध्ये ३३ वटा वडाका वडाध्यक्ष पदमा एमालेको वर्चस्व छ । दलहरूको एकल मत हेर्दा भने एमाले अगाडि देखिन्छ । एमाले र माओवादीको गठबन्धन हुँदा २०७४ को निर्वाचनमा सो क्षेत्रमा पर्ने मकवानपुरको राक्सिराङ गाउँपालिकाबाहेक अन्य सबैमा एमाले र माओवादी केन्द्रको गठबन्धनकै बर्चस्व रहेको थियो ।

राक्सिराङमा कांग्रेसले नेतृत्व लिँदा थाहा नगरपालिकामा माओवादी केन्द्र र अन्य सबैमा एमाले विजयी भएको थियो । उक्त गठबन्धन लामो समय टिक्न नसक्दा र एमालेभित्रैबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुन पुग्यो । त्यसको असर ०७९ को स्थानीय निर्वाचनमा देखिन पुग्यो । २०७४ मा एमाले विजयी भएको क्षेत्रमा समेत हालको सत्तारुढ गठबन्धन हावी हुन पुग्यो ।

उक्त क्षेत्रमा एमालेले ३६ हजार ८६६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले ३४ हजार २४०, नेकपा माओवादी केन्द्रले २२ हजार ६ सय ७ र नेकपा एकीकृत समाजवादीले २ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा थाहा नगरपालिका तथा मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका पर्दछन् भने हेटौंडा उपमहानगरपालिकाको १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७, ८ वडाहरु मकवानपुरको क्षेत्र नम्बर २ मा पर्छन् ।

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १८:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया