सत्ता गठबन्धनका दलले संघ र प्रदेशमा फरक फरक दलबाट उम्मेदवारी दिने

सत्ता गठबन्धनका दलले ४ मंसिरमा हुने तय भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा फरक फरक दलबाट नै उम्मेदवार हुने प्रावधानसहित सिट बाँडफाँट गर्ने समझदारी गरेका छन् । 

संघ र प्रदेश क्षेत्रमा फरक फरक दलका उम्मेदवार हुने गरि सिट बाँडफाँट गर्ने प्रारम्भिक सहमति दलहरुबीच भएको हो । 

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिनिधिसभा क्षेत्रमा गठबन्धनको एउटा दलले उम्मेदवारी दिएमा प्रदेश क्षेत्रमा त्यही दलको अर्को उम्मेदवार हुने गरि सिट बाँडफाँट गर्ने समझदारी बनाएको हो ।

‘सामन्यतः संघीय क्षेत्रमा एउटा दलको उम्मेदवार भए, प्रदेशमा अर्को दलबाट उम्मेदवार हुने गरि तालमेल गर्ने समझदारी भएको छ,’ बैठक सकिएपछि कांग्रेस नेता तथा सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘तालमेल गरेर अगाडि बढ्दा यो तरिकाबाट जाने तयारी भएको छ ।’

तर, शुक्रबारको बैठकले सिट बाँडफाँट कसरी गर्ने भन्ने टुंगोमा नपुगेको जानकारी पनि उनले दिएका छन् । उनले प्रदेश सिट बाँडफाँटको विषयमा छलफल सुरु भएकाले यसलाई अब छिट्टै टुंग्याइने जानकारी पनि दिएका छन् ।

कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने कोरोनाभाइरस संक्रमण भएका कारण बैठकमा सहभागी भएका थिएनन् ।



यो कार्यदलले दुई सातादेखि सिट बाँडफाँटको विषयमा छलफल चलाउन थालेको हो । तर, यसमा अहिलेसम्म सहमति जुटेको छैन ।

गठबन्धनमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २५ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।



तर, यस विषयमा अहिलेसम्म छलफलसमेत सुरु भइसकेको छैन । शुक्रबारको बैठकमा प्रदेश सभामा सिट बाँडफाँटबारे छलफल सुरु भएकाले यो विषयमा आइतबारदेखि बस्ने बैठकमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार २२:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया