प्रधानमन्त्री देउवाले गरे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिका - १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडल, सहरी विकास मन्त्री मेटमणि चौधरीलगायतको उपस्थिति रहेको  छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ मा ठेक्का सम्झौता भएको थियो । 

आयोजना प्रमुख धर्मेन्द्र पन्थीका अनुसार थप भएको म्याद अगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको हो । बुटवलदेखि पूर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । 

अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, गोष्ठी र बैठक गर्न मिल्ने गरी सम्मेलन केन्द्र निर्माण गरिएको हो  । रामनगरस्थित बुटवलमण्डपमा  ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा केन्द्र निर्माण गरिएको छ । 

सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोड रुपैयाँ लागतमा सम्मेलन केन्द्र बनाएको हो । केन्द्रमा मुख्य सभा हलसहित करिब २ हजार मानिस अट्ने १३ वटा हल छन् । एक हजार जना अट्ने मुख्य सभा हलको गौतम बुद्ध नाम दिइएको छ । 



सम्मेलन केन्द्रमा राष्ट्रिय झण्डाको चन्द्र सूर्य आकारका २ वटा भवन छन् । चन्द्र आकारमुनि २ वटा ठूला हल छन् भने सूर्य आकारको भवनमा ११ वटा हल छन् । सम्मेलन केन्द्रको चारैतिर आकर्षक चार वटा प्रवेशद्वार बनाइएको छ । 



  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १२:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया