आज कुशे औँशी । हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रूपमा मनाउने परम्परा छ । वैदिक सत्य सनातन धर्मावलम्बीहरुले वर्षभर देव कार्य र पितृ कार्यका लागि प्रयोग गर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँशी पर्व मनाउने गर्दछन् ।
व्राह्मणले मन्त्रोच्चारणसहित पूजा गरेर यजमानको घरमा राख्ने कुशले परिवारको कल्याण हुने शास्त्रोक्त कथन छ । आज उखेलिएको कुश वर्षभर देव तथा पितृ कार्यमा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुशको आयु मात्र सोही दिन नै रहने शास्त्रप्रमाण छ । वैदिक सत्य सनातन धर्मावलम्बीले कुशलाई विष्णु भगवान् प्रतीकको रूपमा पूजा गर्ने गर्दछन् ।
आजको दिन छोराछोरीले पितालाई मनपर्ने मिठाइ, फलफूल र अनेक मिष्ठान्न दिई खुसी तुल्याइ पिताको मुख हेर्ने गर्दछन् । पिता गुमाएकाहरुले पिताको स्मरणमा पवित्र स्थानमा गएर श्राद्ध र तर्पण दिने प्रचलन छ । आज कुशे औँशीको दिन काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा भक्तजनहरूको भीड लागेको छ ।
पिता नहुनेहरूले पिताको स्मरणमा पवित्र धाम गोकर्णेश्वरमा गएर श्राद्ध, तर्पण एवं पिण्ड दान दिएका छन् । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वरमा पिण्ड दान गर्दा पितृ दोषबाट मुक्त भइने धार्मिक विश्वास छ । नेपालको तनहुँ स्थित देवघाट धाम, म्याग्दीको गलेश्वर लगायतका पवित्र धाममा आज पितृहरूको स्मरणार्थ पिण्ड दान एवं तर्पण गर्नेको भीड लाग्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।