इमेज अवार्डको २२ औं संस्करण ३ असोजमा

इमेज अवार्डको २२ औं संस्करण आगामी ३ असोजमा आयोजना हुने भएको छ । इमेज च्यानलले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो । 

गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी १५ विधाका उत्कृष्ट पाँच मनोनयनसमेत सार्वजनिक गरिएको छ । यस वर्षदेखि नयाँ विधाका रुपमा नेपहप र्या‍प प्रस्तुति पनि प्रतिष्पर्धामा समावेश गरिएको आयोजकले जनाएको छ । 

कोभिडका कारण विगत दुई वर्ष अवार्ड कार्यक्रम गर्न सम्भव नभएपछि सो अवधिलाई समेत समावेश गरेर विसं २०७६ साल १ असारदेखि विसं २०७९ साल जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली गीत, संगीत, रचना र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको जनाएको छ । 

यसपटक भने पब्लिक च्वाइस अवार्डको एक विधाका लागि अनलाइन भोटिङ डब्लुडब्लुडब्लु डट इमेजखबर डट कममार्फत खुला गरिएको छ । यस विधामा सर्वाधिक भोट पाउने गीत र त्यसका श्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने आयोजकको भनाइ छ । 

इमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट यस वर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्न लागेको इमेज च्यानल प्रमुख कार्यकारी कार्यकारी डा. महेन्द्र बिष्टले बताए । 

उनले भने, ‘हामीले इमेज अवार्डको २२ औं संस्करणसम्बन्धी टप ५ सार्वजनिक गरेका छौँ । यसमा १५ विधा छन् र १५ वटा नै विधाको टप ५ सार्वजनिक गरेका हौँ । त्यसमा उत्कृष्ट ५ मध्येबाट सर्वोत्कृष्ट १ लाई असोज ३ गते हुने ग्राण्ड फिनालेमा इमेज अवार्डको रुपमा वितरण गर्नेछौँ । लाइफटाइम एचिभमेन्ट अवार्डको रुपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलाई समर्पण गरेका छौँ ।’



च्यानलले नेपाली गीत, संगीत क्षेत्रको उत्थानका लागि समर्पित संगीतकर्मीको सम्मान एवं प्रोत्साहन हेतु अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १६:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया