ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौँ : मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशि सुनिश्चित गरीएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागू गर्न लागेको मन्त्री अथकले जानकारी दिए । 

राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन गरेको दुईदिने प्रशिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताए । 

राष्ट्रका लागि आफ्नो जीवनको ऊर्जावान् समय खर्च गर्ने खेलाडीलाई राज्यले उचित सम्मान दिन नसकेको महसुस गरेर नै पुरस्कार कार्यविधि लागू गर्न लागिएको बताउँदै मन्त्री अथकले खेलाडीलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गरे । 

‘हामीले ऐनमार्फत खेलाडीको पुरस्कार राशि सुनिश्चित गरेका छौँ,’ मन्त्री अथकले भने, ‘अब ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले पुरस्कारस्वरुप १ करोड ३० लाख रकम प्राप्त गर्नेछन् । यसले खेलाडीको वृत्ति विकासका साथै राष्ट्रको पहिचान स्थापित गर्नमा समेत ठूलो मद्दत मिल्नेछ ।’ 

उनले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका विभिन्न प्रतिस्पर्धामा पदक विजेता तथा कीर्तिमान बनाउन सफल खेलाडीलाई विधागत रुपमा पुरस्कारको व्यवस्था गरीएको बताए । नेपाली खेलाडीहरु हरेक किसिमका खेल खेल्न सक्षम भए पनि उनीहरुलाई हौसलाको कमी रहेको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘नेपाली खेलाडी आफैँमा साहसी र सक्षम छन्, उनीहरुको हौसला बढाउन जरुरी छ ।’

मन्त्री अथकले पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदमा केन्द्रित हुन खेलाडीलाई आग्रहसमेत गरेका छन् । 



नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका सभापति तथा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य बुद्धि थापाले जानकारी दिए । 

कार्यक्रममा तेक्वान्दोका राष्ट्रियदेखि प्रदेशस्तरीय रेफ्री तथा प्रशिक्षकको सहभागिता थियो ।
 



  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १८:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया