नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंशको क्षेत्र बन्ने निश्चित रहेको उनको टिप्पणी छ । केही मानिसले साथ दिए भन्दैमा कानुन मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि उनले काठमाडौंका मेयर बालेन्द्र शाहलाई चेतावनी दिए ।
आफ्नो निर्वाचन क्षेत्रमा ध्वंसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गर्दै उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्नेकुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौं महानगरपालिकाका मेयर साहलाई आग्रह गरे ।
नेता बस्नेतले संविधानमा दुईपटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गरे । प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कतिपटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गर्दै नेता बस्नेतले समानुपातिकतर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो नभएको जिकिर गरे ।
नेता बस्नेतले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप लगाए । नेकपा एमाले अहिले पनि कमजोर नरहेको भन्दै उनले निर्वाचनमा प्रत्यक्षतर्फ नै ७० भन्दा बढी सिट जित्ने दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।