एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक : मन्त्री चौधरी

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् ।  
शनिबार दाङको लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन् ।

‘नेताहरू जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आए पनि कानै चिरेका जनताले त्यसै भनेका होइनन्, उनले  भने, ‘गणतन्त्रका लागि लडेका नेताहरूमा समेत यस्तो प्रवृत्ति देखिनु दुर्भाग्यपूर्ण हो ।’

नेता भइसकेपछि जनताका सुख दुखबाट टाढा हुन नहुने धारणा राख्दै सहरी मन्त्री चौधरीले भने, ‘देश जोगाउने सन्दर्भमा, व्यवस्था परिवर्तन गर्ने सन्दर्भमा, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने बेला ठुलो कुर्बानी गरेका सीमान्तकृत जनतालाई झनै बेवास्ता गरिएको छ । हाम्रो पार्टी सीमान्तकृत जनताको बलमै निर्माण भएको हो । तपाईँहरूका समस्या समाधान गर्ने पार्टी पनि हाम्रै पार्टी हो । हाम्रो पार्टी नै तपाईँहरूको अभिभावक हो ।’ 

विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला दाङ आइपुगेका मन्त्री चौधरीले जनतालाई सचेत हुन समेत आग्रह गरेका छन् । उक्त कार्यक्रममा देवी कुमाल, कवेली कुमाल, श्यामी दमाई, पार्वती नेपाली, गोकर्ण नेपाली, अमर बहादुर बुढाथोकी, अमृता कुमाल, राधा कुमाल, पुष्पा रोका, विना कुमाल, सन्तोषी कुमाल, बिमला कुमाल, देब नेपाली लगायत दुई दर्जन बढी समाजवादी प्रवेश गरेका थिए ।  





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ७:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया