बागमती प्रदेशमा ९७ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति ?

बागमती प्रदेशमा साउन पहिलो सातासम्ममा ९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशका १३ जिल्लामा धान उत्पादन हुने १ लाख २० हजार ५ सय ७० हेक्टर जमिन रहेकोमा यो वर्षको वर्षे धान १ लाख १७ हजार १ सय ८० हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए । 

प्रदेशका १३ जिल्लाहरू मध्येका  ६ वटा जिल्लाहरूमा पूर्ण रूपमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । ललितपुर, भक्तपुर र काठमाडौं, चितवन, धादिङ र मकवानपुरमा शतप्रतिशत रोपाइँ गरिएको तथ्याङ्क मन्त्रालयको छ । काठमाडौंको ५ हजार ९ सय ५९ हेक्टर, ललितपुरमा ४ हजार १ सय ७५ हेक्टर र भक्तपुरमा ३ हजार ९ सय २५ हेक्टर, धादिङमा ११ हजार १ सय ५९ हेक्टर, चितवनमा २२ हजार ९ सय ७७ हेक्टर र मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलको जग्गामा धान खेति हुने गरेको छ । 

 या वर्षको वर्षे धान रोपाइँ सबैभन्दा कम रामेछापमा ९२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता कँडेलले बताए । जहाँ ८ हजार ८ सय ९३ हेक्टर रोपाइँ हुने जग्गा रहेकोमा ८ हजार १ सय ८२ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्क छ । 

दोलखाको २ हजार ९ सय २१ हेक्टर क्षेत्रफल रोपाइँ हुने जग्गामा यो वर्ष २ हजार ७ सय ८२ हेक्टर अर्थात् ९५ प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसै गरी सिन्धुलीको १५ हजार ४ सय २३ हेक्टर मध्ये १४ हजार ७ सय २९ अर्थात् ९६ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै, काभ्रेमा ९ हजार ३ सय ८५ हेक्टर धान रोपाइँ हुने जग्गामा यो वर्ष ९३.२ प्रतिशत अर्थात् ८ हजार ७ सय ४७ हेक्टरमा रोपाइँ सकिएको छ । 

त्यस्तै, सिन्धुपाल्चोकमा ८ हजार ५ सय ९० हेक्टर मध्ये ९५ प्रतिशत अर्थात् ८ हजार १ सय ६१ हेक्टर खेतमा रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस्तै नुवाकोटमा १४ हजार २ सय ८३ हेक्टरमध्ये ९५ प्रतिशत अर्थात् १३ हजार ५ सय ६९ हेक्टरमा रोपाइँ भएको छ भने रसुवामा यो वर्ष ९६ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको तथ्याङ्क छ । रसुवाको १ हजार ८ सय ७२ हेक्टर धानले ढाकेको जग्गा मध्ये १ हजार ८ सय १६ हेक्टरमा रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 



बागमती प्रदेशमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको कुल ९७ प्रतिशतमा यो वर्ष धान खेती सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा पछिल्लो केही वर्ष यता धान उत्पादन घट्दो क्रममा छ । कृषि पेसाप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको हो । आर्थिक वर्ष २०७७–०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ५ लाख १० हजार २ सय, २०७५/०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।



  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ८:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया