महेश बस्नेतले मेयर बालेन्द्रलाई चेतावनी दिँदा दीपशिखा र शेर्पालीको काउन्टर

बिहीबार नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाप्रति नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरे । सामाजिक सञ्जालमा अल्फाबिटाका सञ्चालकसहित एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहितको फोटो सार्वजनिक गर्दै बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भन्दै प्रश्नसमेत गरेका थिए ।

बस्नेतले अल्फाबिटाका सञ्चालक आफूहरूसँग नजिक भएकै कारण वा फोटो खिचाएकैले डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका दिएका थिए । लगत्तै बालेनले उनको यही पोस्टमा कमेन्ट गर्दै नक्सा पासअनुसार घर निर्माण नगरेकै काण भत्काइएको बताए । आफूसँग पनि सिवाकोटीले फोटो खिचेको भन्दै उनले नियमकानुन पालना सबैले गर्नुपर्ने स्पष्ट पारे ।

तस्बिरसहित कमेन्ट गरेका उनले अन्तिममा बस्नेतलाई नक्सा पास छ कि छैन भनेर प्रश्नसमेत गरेका थिए । उनले लेखेका थिए, ‘फोटो त मसँग पनि खिच्नुभएको छ, पहिलो कारण नै हो । नियम कानुनको पालना सबैले गर्नुपर्छ कमरेड, बरु हजुरको घरको नक्सा पास छ कि छैन?’

बालेनको कमेन्टको रिप्लाइमा बस्नेतले पुनः फेसबुक स्टाटस लेखेका छन् । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरेँ खुसी लाग्यो । तपाईँलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला ।’ 

‘तपाँइलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन्, डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका थिए । 

उनले २÷४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् ।  एउटा फेसबुक एकाउन्टबाट गरिएको कमेन्टलाई लिएर बस्नेत बालेनमाथि खनिएका हुन् । त्यसपछि पनि उनीसञ्चारमाध्यममा काठमाडौंका मेयर साहलाई निरन्तर चेतावनी दिइरहेका छन् । 



बस्नेत नेकपा एमालेको भातृ संगठन युवा संघका पूर्वअध्यक्ष समेत हुन् । उनले बालेनलाई चेतावनी दिइरहँदा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) का पदाधिकारी भने बालेन्द्रको समर्थनमा उभिएका छन् । 

वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र वर्तमान अध्यक्ष सुवोध सेर्पाली मेयर बालेन्द्रको समर्थनमा मात्रै खुलेका छैनन् युवा संघका पूर्वअध्यक्ष बस्नेतलाई काउन्टरसमेत दिएका छन् । 



इन्चार्ज दीपशीखाले काठमाडौंका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै विरोधको बेवास्ता गर्दै अघि बढ्न सुझाव दिएका छन् । उनले नियम बुझेर बुझ पचाइरहेकालाई परिवर्तन, अलिअलि सन्काहा, अलिअलि अराजक लाग्नु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।  

‘नियम बुझेर पनि बुझ पचाइरहेकाहरूलाई ‘परिवर्तन’ गर्न अलिकति सन्काहा, अलिकति एकांकी र अलिकति अराजकहरूले नै सक्छन्,’ सापकोटाले  फेसबुकमा लेखेका छन्, ‘संसारमा धेरै पागल भनिनेहरूले क्रान्ति ल्याएका उदाहरणहरू छन् ।’

त्यस्तै, वाइसिएलका अध्यक्ष सुबोध सेर्पालीले मेयर शाहको काम स्वागतयोग्य भएको बताएका छन् । उनले राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एकथरीको निद्रा हराएको बताएका छन् । 

सेर्पालीले केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रूपमा निर्वाचित भएका व्यवस्थाभित्र फुलेका फूल निमोठ्ने अभिव्यक्ति कसैलाई नदिन आग्रहसमेत गरेका छन् ।

‘मेयर ज्यू अघि बढ्नुहोस्, आफ्नो वा पराई कोही नभनी सधैं जनता एवं राज्यको भौतिक सम्पतिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिविरुद्ध जनमतको साथ लिएर लम्कनुहोस्, अवश्य सफलता मिल्ने छ,’ उनले भनेका छन्, ‘शक्तिको आडमा बसेर कानुनविपरीत मनपरी गर्ने छुट कसैलाई छैन, हुनु पनि हुँदैन ।’

  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १३:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया