नेपालपछि कम्बोडिया र फिलिपिन्स चीनको प्राथमिकतामा, नेता लिउ सक्रिय

विश्व महाशक्ति राष्ट्रहरू तीव्र ध्रुवीकरणमा रहेका बेला चीनले पनि आफनो प्रभाव बढाउन थालेको छ । खासगरी अमेरिकाले चीनलाई निशाना बनाउँदै विश्वभर रणनीतिक योजना अघि बढाएपछि चीनले पनि त्यसै अनुरूप रणनीतिक कदम उठाइरहेको छ । 

अमेरिकाले नेपालमा एमसिसी पास गरी एसपिपी सम्झौतासमेत गर्न दबाब दिएपछि चीनले नेपालमा प्रत्यक्ष चासो राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले समेत नेपाल भ्रमण गरिसकेका छन् । त्यसपछि परराष्ट्र मन्त्री डा. नारायण खड्काले पनि चीन भ्रमण गरेर ‘एक चीन नीति’प्रति प्रतिवद्धता जनाएका थिए । 

अहिले चीनले नेपालपछि कम्बोडिया र फिलिपिन्सलाई उच्च प्राथमिकतामा राखेको छ । चिनियाँ विदेश विभाग सीपीसीका विदेश विभाग प्रमुख लिउले कम्बोडिया र फिलिपिन्सका नेताहरूलाई भेटेर आपसी सम्बन्ध बलियो बनाउनुकासाथै रणनीतिक विकास साझेदार र सुरक्षाका विषयमा समेत सहमति गरेका छन् । 

चीनले आगामी वर्ष चीन र कम्बोडियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवलाई अवसरको रूपमा लिने जनाइसकोको छ । यो विषमा दुवै देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई मार्गदर्शनको रूपमा लिन र कम्बोडियासँग मिलेर काम गर्न चीन इच्छुक रहेको छ । विदेश विभाग प्रमुख लिउले परम्परागत मित्रतालाई कायम राख्न, व्यावहारिक आदानप्रदान र सहयोगलाई विस्तार गरी गहिरो बनाउन तथा कम्बोडिया र चीनबीच साझा भविष्यको समुदायको निर्माणलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिवद्ध रहेको बताए । 

लिउ जियानचाओले एकअर्काको मुख्यहितका लागि पारस्परिक सहयोग विशिष्ट विशेषता भएको कुरामा जोड दिँदै कम्बोडियाले एक चीन सिद्धान्त दृढतापूर्वक पालना गरेकोमा धन्यवाद दिए । उनले कम्बोडियालाई राज्यको सार्वभौमसत्ता र राष्ट्रिय गरिमाको रक्षा गर्न र राष्ट्रिय परिस्थिति अनुरूप विकासको बाटो पछ्याउन दृढतापूर्वक समर्थन गर्ने स्पष्ट पारेका छन् । 



यस्तै, कम्बोडियाको अर्थतन्त्र विस्तार गर्न र जनताको जीविकोपार्जनमा सुधार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । कम्बोडियाले पनि चीनसँग सहकार्य गरी अघि बढ्न तयार रहेको स्पष्ट पारेको छ । यस्तै, लिउले फिलिपिन्सका नेताहरूसँग पनि भेट गरी सम्बन्ध विस्तारको योजना अघि सारेका छन । उनले २७ अगस्टको दिउँसो फिलिपिन्स क्रिस्चियन मुस्लिम डेमोक्रेटिक फोर्सका अध्यक्ष तथा प्रतिनिधि सभाका सभामुख रोमुल्डेजसँग भेटवार्ता गरे । 

रोमुल्डेजले क्रिस्चियन मुस्लिम डेमोक्रयाटिक फोर्सेस पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मैत्रीपूर्ण आदानप्रदानप्रति सकारात्मक टिप्पणी गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै चीनसँग अन्तर–पार्टी आदानप्रदानलाई सुदृढ गर्ने आशा व्यक्त गरे । फिलिपिन्स र चीनबीचको परम्परागत मित्रतालाई अझ गहिरो बनाउने र फिलिपिन्स–चीन सम्बन्धको नयाँ ‘स्वर्ण युग’ को उद्घाटनमा सकारात्मक योगदान पुर्‍याउने दुवैले प्रतिवद्धता जनाए । 



फिलिपिन्स पक्षले देशको आर्थिक र सामाजिक विकासका लागि चीनलाई दीर्घकालिन सहयोग र सहयोग गरेकोमा धन्यवाद दिएको छ । लिउले फिलिपिन्सलाई मद्दत गर्नको लागि कृषि, पूर्वाधार निर्माण, ऊर्जा र लगानीमा चीनसँग व्यावहारिक सहयोगलाई अझ गहिरो बनाउन तत्पर रहेको जनाएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डललाई फिलिपिन्स भ्रमण गर्न निमन्त्रणा गरेकोमा लिउ जियानचाओले रोमर्डेजलाई धन्यवाद दिँदै चीन–फिलिपिन्स सम्बन्धको विकासमा महत्वपूर्ण सहमतिमा पुग्न केही समयअघि राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति मार्कोसबीच फोनमा वार्ता भएको बताए । 

चीनले फिलिपिन्ससँग दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न, वार्तालाप र सञ्चारलाई सुदृढ गर्न, राजनीतिक आपसी विश्वासको अभिवृद्धि गर्न र हितको एकीकरणलाई प्रगाढ बनाउन इच्छुक रहेको जनाएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ र थप निर्माणका लागि फिलिपिन्सका योजना बीचको तालमेललाई बलियो बनाउने समेत लिउले बताए । 

उनले चीन र फिलिपिन्सबीचको असल मित्रतालाई दुई पक्षले संयुक्त रूपमा अघि बढाउन ध्यान दिनुपर्ने धारणा राखे । लिउ जियानचाओले बैठकमा उपस्थित प्रतिनिधिसभाका प्रतिनिधिहरूसँग पनि आदानप्रदान गर्नुका साथै सदस्यहरूले उठाएका प्रश्नहरूको पनि जवाफ दिएका थिए ।

  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ८:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया