निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गरिन्छ : कुलमान घिसिङ
देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने विद्युत प्राधिकरणको तयारी
फरकधार / १४ भदौ, २०७९
फाइल तस्वीर

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् ।



मंगलबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेसनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । 

कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए । उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनका लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए । 



घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । उनले रत्नपार्कको चार्जिङ स्टेसन १२० किलोवाट डिसी क्षमता रहेको बताए । उनले  विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने बताए । 



उनले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने बताए । घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरूमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । उनले चार्जिङ स्टेसनमा समयअनुसार फरक–फरक शुल्क लाग्ने बताए । 

राति पिक समयमा ८.७० पैसा, रातिको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको उनले बताए । उनले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताए । 

उनले विगतमा विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेसन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिवर्तन भएको बताए ।

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताएको छ । 

केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।  

विद्युत् खपत प्रवर्द्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गमा द्रुत सवारी चार्जिङ स्टेसनहरूको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । 

प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक तीनवटा सवारी चार्ज गर्न मिल्नेछ ।

  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १५:५०:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया