झापा १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिनँ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् ।  

काठमाडौं–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे  । उनले भने, ‘यो तेस्रो पटकको ट्रायल हो, यसपटक अवश्य पास हुन्छु ।’

तर, शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुंगो नलागेको बताए । शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताए । 

संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गरे । 

उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पारे । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भने, ‘पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुंग्याउने सहमति भएको छ ।’

०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले)का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार २१:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया