भूमि आयोगलाई नागरिकको प्रश्न : आयोगले दिएको पुर्जा कहाँ काम लाग्छ ?
आयोग र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समन्वय अभाव

छविलाल रानाको परिवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ मा २०२२ सालमा बसाइसराइ गरेको थियो । झाडी तथा जंगल फडानी गरेर उनको परिवारले खेतीपाती सुरु गर्‍यो । सल्यानको बनगाड क्षेत्रबाट बस्ती सरी आएको उनको परिवारले बाँकी जीवन यही क्षेत्रमा बिताएको हो ।​

छविलालका बुबाको मृत्यु भइसकेको छ । १२ वर्षको उमेरमा बुबासँगै भेरीगंगामा बसाइसराइ गरी आएका छविलाल अहिले ६६ वर्ष भइसकेका छन्  । गत वर्षको चैतमा भोग चलन गरिएको जग्गाको लालपुर्जा पाएपछि भने छविलालको परिवारमा खुसी छायो । राष्ट्रिय भूमि आयोगले गत वर्षको २५ चैतमा भेरीगंगा नगरपालिका क्षेत्रमा लालपुर्जा वितरण गरेको थियो । सोहीअनुसार छविलालको परिवारले समेत ३३ रोपनी जग्गाको लालपुर्जा पायो ।

जग्गा भोग चलनको करिब ५६ वर्षपछि पाएको लालपुर्जाले दिएको खुसी भने धेरै दिन टिक्न सकेन । अंशबन्डाका क्रममा जग्गालाई पाँच भाग लगाउनुपर्ने थियो । तर, भूमिसुधार तथा मालपोत कार्यालय, मेहलकुनाले भने उक्त छविलालको परिवारलाई जग्गा अंशबन्डा गर्न नसक्ने जनायो ।

‘लालपुर्जा पाएर को खुसी हुँदैन र? बुबाको पालाको जग्गाको अहिले नातिको पालामा लालपुर्जा आएको थियो । हामी पनि धेरै खुसी भयौँ । तर, पछि अंशबन्डा गर्न जाँदा त गर्न मिल्दैन पो भने’, छविलालले भने ।

अंशबन्डाका लागि मालपोत कार्यालय पुगेको छविलालको परिवारलाई कार्यालयले लालपुर्जा अंशबन्डा गर्न नमिल्ने जनाउँदै फर्काइदियो । ‘अब त जग्गाको मालिक बनियो भनेर मालपोत पुगेका थियौँ । तर, हाम्रोमा विवरण आएको छैन भन्दै फर्काइदिए । अहिलेसम्म पनि हाम्रो काम भएको छैन’, दुखेसो पोख्दै उनले प्रश्न गरे,  ‘आयोगले दिएको पुर्जा कहाँ चल्छ?’

यस विषयमा आयोगको सुर्खेत जिल्ला समिति अध्यक्ष श्रीधर पौडेलसँग बुझ्दा उनले भने, ‘स्थानीय निर्वाचनअघि नै हामीले काम अघि बढाएका हौँ । यसअघि गठन भएका आयोगहरूको बाँकी कामलाई हामीले द्रुत गतिमा अघि बढाइरहेका छौँ । तर, वितरण भएका लालपुर्जा मालपोत कार्यालयले स्वीकार नगर्दा भने नागरिकले सास्ती भोगिरहेका छन् ।’



आयोगले जिल्लाभर अझै ४ सय पुर्जा वितरण तयारीसमेत गरिरहेको अध्यक्ष पौडेलले बताए । आयोगले वितरण गरेका लालपुर्जाको विषयमा मालपोत कार्यालयले समयमै काम अघि बढाउनुपर्ने पौडेलको सुझाव छ । राष्ट्रिय भूमि आयोग र भूमि व्यवस्थापन तथा अभिलेख विभागका बीच लालपुर्जा वितरण विषयमा समन्वय अभाव देखिन्छ ।

राष्ट्रिय भूमि आयोगले लालपुर्जा वितरण गरेर विवरण पठाए पनि सम्बन्धित विभागले भने कार्यान्वयन आदेश नपठाएका कारण मालपोत कार्यालयले काम अघि बढाउन नसकेको मालपोत कार्यालय मेहलकुनाका प्रमुख विमल आचार्य बताउँछन् ।



उनले भन्छन्, ‘लालपुर्जाको विवरणसहित हामीले भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पठाएका छौँ । उताबाट कार्यान्वयनका लागि आदेश आएपछि मात्र काम अघि बढ्छ ।’ विभागबाट कार्यान्वयन आदेश कहिले आइपुग्ने विषयमा भने मालपोत कार्यालय अनभिज्ञ छ ।

१४७ थान पुर्जा वितरण

गत वर्ष आयोगले कोटमाझ खर्कका १ सय ३४ परिवारलाई लालपुर्जा वितरण गरेको थियो । लालपुर्जा पाउनेमध्ये भेरीगंगा नगरपालिका–८ का १०२ र गुर्भाकोटका ३२ परिवार छन् । त्यस्तै, नेपाल सरकारका नाममा दुईवटा लालपुर्जा दिइएको हो ।

भेरीगंगामा २०३ कित्ता र गुर्भाकोटमा ५२ कित्ताको लालपुर्जा वितरण गरिएको हो । जसमा भेरीगंगामा कुल ६१ हजार ५ सय ५८ दशमलव सात वर्गमिटर र गुर्भाकोटमा १ लाख ९ हजार ६ सय ५३ वर्गमिटरको जग्गाका धनीलाई प्रमाणपत्र वितरण गरिएको आयोगले जनाएको छ ।

गत वर्ष वितरण गरिएको पुर्जामध्ये भूमि आयोग सुर्खेत समितिले गुर्भाकोट नगरपालिकामा १२ पुरुष, २० महिला गरी ३२ जना र भेरीगंगा नगरपालिकामा ३३ महिला, ६९ पुरुष गरी १ सय २ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । यी दुई नगरपालिका गरी कुल १ सय ३४ जनाले शुक्रबार जग्गा धनी पुर्जा पाएका थिए ।

२०२८ सालदेखि यस क्षेत्रका नागरिकले जग्गा कमाई भोगचलन गर्दै आएको र मालपोत कार्यालय सुर्खेतले २०४० सालमा नाप नक्सा गरी राखेको कामलाई विभिन्न कालखण्डमा बनेका आयोग तथा समितिले थाती राखेका थिए । गत वर्षको २३ पुसमा गठित राष्ट्रिय भूमि आयोग सुर्खेत समितिले १४ माघदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो । 

भेरीगंगा नगरपालिकामा २ सय ३० कित्तामा ६१ हजार ५ सय ९८ दशमलव सात वर्गमिटर र गुर्भाकोट नगरपालिकामा ५२ कित्तामा १ लाख ९ हजार ५ सय ५३ वर्गमिटर जग्गाको लालपुर्जा वितरण गरिएको थियो ।

हालसम्म भने कुल १ सय ४७ वटा पुर्जा आयोगले वितरण गरिसकेको छ ।

  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार ११:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया