मंगलबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार उच्च अंकले घटेको छ ।
बुधबार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको भन्दा बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी घटेको देखिन्छ ।
बुधबार नेप्से घटे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत, गणपति लघुवित्तको १.४० प्रतिशत, दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ ।
तर, यता हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ ।
बुधबार नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।